काठमाडौं । क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले नयाँ चीनका नेता कमरेड माओको १३३औं जन्म दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको छ । संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक विज्ञप्तिमार्फत् यस्तो ऐक्यवद्धता जनाएका हुन् ।
आजकै दिन अर्थात् सन् १८९३ डिसेम्बर २६ का विश्व सर्वहारा वर्षका नेता, माओवादका प्रवर्तक, नयाँ जनवादी क्रान्तिका सिध्दान्तकार, योजनाकार एवम् प्रयोगकर्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको जन्म भएको थियो । संसारभर आज माओको जन्मदिन मनाएको छ । विश्व सर्वहारा एवम् श्रमजीवी जनसमुदाय र उत्पीडित राष्ट्र तथा जनताले २६ डिसेम्बरलाई माओ दिवसका दिन मनाउँदै आएका छन् ।
रुस, चीन लगायतका मुलुकहरुमा सञ्चालन हुँदै आएको समाजवादी व्यवस्थामाथि भएको प्रतिक्रान्ति पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व वैज्ञानिक समाजवादी शिविर रक्षात्मक अवस्थामा पुगेको छ र रिम जस्तो क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनको विघटन पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्व बिहीन अवस्थामा छ ।
विज्ञप्तिमा केसीले विश्वभर क्रियाशील माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ खालको कम्युनिस्ट अन्तर्राष्ट्रियको गठनको प्रयास गरिरहेको अवस्था छ, यस कदमप्रति सो संगठनको समर्थन, सहयोग र ऐक्यबद्धता रहेको जानकारी गराएका छन् ।
विज्ञप्तिमा केसीले आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग भएको भन्दै माओवाद विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक एवम् मार्गदर्शन सिध्दान्त भएको वर्तमान सन्देशमा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका लागि दृढताका साथ अगाडि बढ्ने प्रतिज्ञा गरे पछि मात्र कमरेड माओको १३३औं जन्म दिवस मनाउनुको सार्थक हुने कुरा उल्लेख गरेका छन् ।