काठमाडौं । सिमसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा र सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा संयुक्त रुपमा सम्पन्न भएको छ ।
१३औं साधारण सभाको सभापति सिमसार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष मोहन भण्डारी र चौथो साधारण सभाको सभापति सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कपिल विमलीले गरेका थिए ।
साधारण सभामा बोल्दै सिमसार बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष मोहन भण्डारीले सहकरीको नियम भित्र रहेर सेयर सदस्यहरुलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराइएको जानकारी दिए । सो अवसरमा उनले सेयरमा तोकिएको रकम पुर्याउने र नियमितरुपमा रु. एक सय (१००) बचत गर्ने सेयर सदस्यलाई कल्याणकारी सुविधा उपलब्ध गराइने पनि जानकारी गराए ।
सो अवसरमा बोल्दै सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कपिल विमलीले आफू आवद्ध सहकारीका सेयर सदस्यले उत्पादन गरेको कुरिलो, जुम्लाको फापर र सिस्नो आदि खाद्यवस्तुहरुको बिक्रीवितरण भइरहेको जानकारी दिए ।
सहकारी संस्था संचालनका नियमहरु बारे जानकारी दिने क्रममा अध्यक्ष विमलीले बचत तथा ऋण परिचालन बारे मन्तव्य राख्दै एक जनाले सिमसार बचत तथा ऋण सहकारी संस्थामा १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने नियम रहेको र सेयर सदस्यहरुलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउँदै आइएको जानकारी गराए ।
साधारण सभामा प्रमुख अतिथिको रुपमा सहकारी विज्ञ कमला कार्की पनि उपस्थित थिइन् । सो अवसरमा बोल्दै उनले ऋण लगानी गर्दा संचालक समितिले राम्रोसँग बुझेर मात्र गर्न सुझाव दिइन् । कार्यक्रममा दुईवटै सहकारी संस्थाका पदाधिकारीहरु र सेयर सदस्यहरु सहभागी थिए ।
सभामा आगन्तुकहरुलाई चन्द्रकुमारी श्रेष्ठले स्वागत मन्तव्यबाट स्वागत गरेकी थिइन् । सभाका प्रमुख अतिथि कार्कीले दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । सभामा सहकारीका सेयर सदस्यका तर्फबाट कमलप्रसाद पौडेलले मन्तव्य राखेका थिए ।
सभामा सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारीको तर्फबाट ज्ञानबहादुर खत्रीले लेखा समितिको प्रतिवेदन र सिमसार बचत तथा ऋण सहकारी संस्थाको कोषाध्यक्षको प्रतिवेदन हिराकाजी श्रेष्ठले प्रस्तुत गरेका थिए भने सदावहार सिमसार बहुउद्धेश्यीय सहकारीको कोषाध्यक्षको प्रतिवेदन डिल्लीबहादुर श्रेष्ठले प्रस्तुत गरेका थिए ।
त्यस्तै सिमसार बचत तथा ऋण सहकारी संस्थाको लेखा समितिको प्रतिवेदन सुभाष भगवतीले राखेका थिए भने सदाबहार सिमसार बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमितिको प्रतिवेदन चन्द्रप्रकाश गुरागाईंले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महिला उपसमितिको तर्फबाट विमला शिवाकोटीले पनि मन्तव्य राखेकी थिइन् ।
सो अवसरमा सिमसार बचत तथा ऋण सहकारी संस्थामा आवद्ध असल बचतकर्ताको रुपमा चन्द्रीमाया राई र भीमाकुमारी थापालाई असल ऋणीको रुपमा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सदाबहार सिमसार बहुउद्धेश्यीय सहकारी संस्थाको तर्फबाट उत्कृष्ट तीनमा पर्न सफल कमला चलाउने, लक्ष्मी लामा र नारायण मल्ललाई उत्कृष्ट व्यवसायी घोषणा गरिएको थियो ।