बुटवल । अर्घाखाँचीजिल्लाको भूमिकास्थान नगरपालिका- १० धनचौरमा विद्यार्थी बोकेको जीप दुर्घटना भएको छ । भूमिकास्थान नगरपालिका-१० धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका- ७ छिर्लिंग खोला नजिकै दुर्घटना भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन् ।
राष्ट्रपति रनिङशील्ड प्रतियोगिता कार्यक्रममा सहभागी हुन जादै गरेका विद्यार्थी चढेको जीप दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा परेपछि आजदेखि हुने भनिएको राष्ट्रपति रनिङशील्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको नगरप्रमुख थापाले जानकारी दिएका छन् ।
दुर्घटनामा चालक रुद्रबहादुर बुढा मगरको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको छ भने १६ जना घाइतेको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ ।