काठमाडौं । गत मे महिनामा रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले चन्द्रमामा परमाणु विद्युत गृह निर्माण गर्ने इच्छा व्यक्त गरेको थियो । उक्त जिम्मेवारी प्रमुख रुसी एयरोस्पेस कम्पनी लावोच्किन एसोसिएसनलाई दिइएको बताइएको छ । यद्यपि, वक्तव्यमा पावर प्लान्ट निर्माणको उल्लेख गरिएको छ । यो संयन्त्र परमाणु हुने वा नहुने भन्ने कुरा स्पष्ट पारिएको छैन ।
चन्द्रमामा परमाणु विद्युत गृह बनाउने चीन र रुस
रोस्कोस्मोसका अनुसार सन् २०३६ सम्म चन्द्रमामा विद्युत्गृह निर्माण गर्ने तयारी गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यसका लागि लावोच्किन एसोसिएसनसँग सम्झौतामा हस्ताक्षर भइसकेको छ । विद्युत गृह निर्माणको उद्देश्य रुसका चन्द्रमा अभियानलाई ऊर्जा उपलब्ध गराउनु रहेको एजेन्सीले जनाएको छ ।
ती अभियानमा रोभर, एक वेधशाला तथा रुस–चीन संयुक्त चन्द्र अनुसन्धान स्टेसन समावेश छन् । रोस्कोस्मोसले भनेको छ, “यो परियोजना चन्द्रमामा स्थायी रूपमा सञ्चालन हुने स्टेसन निर्माण गर्ने र एकपटकका अभियानबाट अगाडि बढेर दीर्घकालीन चन्द्र अन्वेषणतर्फ जाने दिशामा महत्त्वपूर्ण कदम हो ।”
एजेन्सीका अनुसार यो प्लान्ट निर्माणमा रोसाटम र कुरचाटोभ संस्थान पनि संलग्न हुनेछन् । रोसाटम रुसको सरकारी परमाणु ऊर्जा निगम हो भने कुरचाटोभ परमाणु ऊर्जासम्बन्धी अनुसन्धानमा अग्रणी रुसी संस्थान हो ।
यसअघि चीन र रुसले संयुक्त रूपमा सन् २०३५ सम्म चन्द्रमामा एक स्वचालित परमाणु ऊर्जा स्टेसन तयार गर्ने योजना घोषणा गरिसकेका छन् । यस परियोजनाका लागि यही हप्ता रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोस र चीनको नेसनल स्पेस एडमिनिस्ट्रेसनबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।
यो विद्युत गृह चन्द्रमामा निर्माण गरिने प्रस्तावित अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसनको हिस्सा हुने बताइएको छ । यसको उद्देश्य दीर्घकालसम्म चन्द्रमामा अन्वेषण तथा वैज्ञानिक अनुसन्धानका लागि ऊर्जा उपलब्ध गराउनु हो ।
अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसन परियोजनालाई अमेरिकाको नेतृत्वमा सञ्चालित आर्टेमिस कार्यक्रमको प्रतिस्पर्धीका रूपमा हेरिएको छ । आर्टेमिस मिसन अन्तर्गत २०२७ देखि चन्द्रमाको कक्षामा ‘गेटवे’ नामक अन्तरिक्ष स्टेसन निर्माण गर्ने योजना छ । यस कार्यक्रममा नासासहित युरोपेली तथा भारतीय अन्तरिक्ष एजेन्सीहरू समेत गरी कुल ५५ देशका अन्तरिक्ष संस्था सहभागी छन् ।
अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसन के हो ?
अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसन परियोजनाअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवको १०० किलोमिटर दायराभित्र एक वैज्ञानिक अनुसन्धान केन्द्र स्थापना गरिनेछ । यस केन्द्रमार्फत दीर्घकालीन र अल्पकालीन अनुसन्धानमा सहयोग पुग्नेछ । अनुसन्धान केन्द्र मानव मिसनहरूद्वारा प्रयोग गर्न सकिनेछ भने लामो समयसम्म स्वचालित रूपमा पनि सञ्चालन हुनेछ ।
रुसी अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसको वक्तव्यमा भनिएको छ, “स्टेसनले आधारभूत अन्तरिक्ष अनुसन्धान गर्नेछ र अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसनमा मानवविहीन दीर्घकालीन सञ्चालनका प्रविधिहरूको परीक्षण गर्नेछ । यसको उद्देश्य चन्द्रमामा मानव उपस्थितिका लागि आवश्यक पूर्वाधार तयार गर्नु हो ।”
सन् २०१७ मा पहिलो पटक अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसनको घोषणा गरिएको थियो । यस परियोजनामा पाकिस्तान, भेनेजुएला, बेलारुस, अजरबैजान, दक्षिण अफ्रिका, इजिप्ट निकारागुआ, थाइल्याण्ड, सर्बिया, सेनेगल र कजाकिस्तानलगायत देशहरू सहभागी थिए ।
चीनले ५० भन्दा बढी देश र ५०० अन्तर्राष्ट्रिय वैज्ञानिक संस्थानहरूलाई परियोजनामा सहभागी हुन निम्तो दिने योजना बनाएको छ । यस अवधिमा करिब पाँच हजार विदेशी अनुसन्धानकर्तालाई पनि आमन्त्रण गरिने दाबी चीनको चन्द्र अन्वेषण कार्यक्रमका प्रमुख डिजाइनर वू वाइरेनले सन् २०२४ मा गरेका थिए ।
अन्तर्राष्ट्रिय चन्द्र अनुसन्धान स्टेसनलाई वैज्ञानिक अनुसन्धान केन्द्रका रूपमा प्रस्तुत गरिए पनि चन्द्रमामा रहेका स्रोतसाधनप्रति धेरै देशहरूको चासो बढ्दो छ । हालसम्मका अन्वेषणबाट चन्द्रमामा मूल्यवान् धातु अक्साइड, रेगोलिथ (चन्द्रमाको माटो), रेयर अर्थ धातुहरू तथा सम्भवतः ठूलो मात्रामा हेलियम–३ रहेको पत्ता लागेको थियो ।
हेलियम–३ लाई भविष्यको न्युक्लियर फ्युजन ऊर्जाको सम्भावित इन्धनका रूपमा हेरिन्छ । चन्द्रमामा कसको अधिकार हुनेछ र त्यो कसरी निर्धारण गरिनेछ भन्ने विषयमा कानुनी विज्ञहरूबीच बहस जारी छ ।