• फाल्गुन २३ २०८२, शनिबार

संस्कृत विश्वविद्यालयका उपकुलपति नेपाललाई बहुमत निकट क्रान्तिकारीले दले कालोमोसो

पुष ६ २०८२, आईतवार

काठमाडौं । संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपाललाई नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनकारवाही गरेको छ । कारवाही स्वरुप नेपाललाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालमाथि कारबाही किन ? शिर्षकमा छरिएको पर्चामा उपकुलपति नेपाललाई कारवाही गर्नुपर्नाको कारण उल्लेख गरिएको छ ।

वितरित पर्चामा विश्वविद्यालय भित्र भ्रष्टाचारको अभियोग लागेका माधव अधिकारीबाट मोटो रकम असुली पुनः रजिष्ट्रार पदमा सिफारिस गरेको, उपकुलपति नियुक्त हुनुभन्दा सात दिन अगाडिसम्म नेपालले संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रमा ताला लगाई विश्वविद्यालयलाई अस्तव्यस्त बनाएको, मोटो रकम बुझाई सरकारी संयन्त्रलाई प्रभावमा पार्दै कथित ‘मेरिटोक्रेसी’ को नाममा आठौँ नम्बरमा रहेका व्यक्तिलाई उपकुलपति बनाइएको जस्ता आरोप लगाइएको छ ।

उपकुलपति नेपाललाई विगतमा नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक हुँदा परीक्षा प्रणाली सुधार गर्नुको सट्टा आफ्ना निकट विद्यार्थीलाई पास गराउने तथा उत्कृष्ट बनाउने धन्दामा संलग्न रहेको, टिएडिए खाएर कार्यालयमा कम समय दिई आफ्ना व्यक्तिगत काम तथा नेताहरूको निवासमा बढी धाउने गरेको, विश्वविद्यालयको अवस्था अत्यन्त नाजुक हुँदाहुँदै पनि त्यसतर्फ कुनै चिन्ता–चासो नलिई ठेकेदारहरूसँग कमिसन खाने रजिष्ट्रारलाई साथ दिँदै कार्यकारी परिषदको बैठक बोलाई विधि विपरीत भुक्तानी गर्ने निर्णय गरेको आरोप पनि लगाइएको छ ।
साथै उपकुलपति नेपाललाई विश्वविद्यालयको जग्गा विभिन्न व्यक्ति तथा कम्पनीलाई दिन ठूलो मात्रामा आर्थिक चलखेल गरेको तथा विश्वविद्यालयको जग्गासम्बन्धी अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्न जानाजानी विलम्ब गरेकोले उनीमाथि कारवाही गरिएको बताइएको छ ।

उपकुलपति नेपाललाई कालाेमाेसाे दलिएकाे भिडियाे सामाजिक संजालमा भाइरल बनेकाे छ ।