काठमाडौँ । नेपाली काँग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको केन्द्रीय समितीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्दै
तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
साथै केन्द्रीय समितिको बैठकले १३औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
शनिबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएका ९१ बर्षिय उपाध्यायको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदैछ ।
विसं २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनु भएका उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । वि.सं. २०५६ मा शिक्षा तथा खेलकूद मन्त्री भएका थिए भने २०६२-०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात पुनस्र्थापित व्यवस्थापिका संसदको सदस्य बनेका थिए । त्यसैगरी २०६४ को संविधान सभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका उपाध्यायले २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजकको भूमिका निभाएका थिए ।