• फाल्गुन २४ २०८२, आईतवार

प्रहरीले जेनजी प्रदशर्नमा लुटिएका हतियार कसरी गरिरहेको छ बरामद ?

मंसिर २४ २०८२, बुधबार

काठमाडौं । जेनजी प्रदर्शनपछि उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियार फिर्ता ल्याउन प्रहरीले विषेश ‘अपरेसन’ चलाएको छ । भदौ २४ गतेको प्रदर्शनपछि लुटिएका हतियार बरामद गर्न खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले हालसम्म ४१ थान साना हतियार (पेस्तोल) बरामद गरेको छ ।

लुटिएको करिब दुई महिनावधिमा उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले ४१ थान पेस्तोल र ६१५ थान गोली बरामद गरेको हो । ती हतियारसहित लुटपाटमा संलग्नहरूलाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रहरीले देशभरबाट करिब एक हजारभन्दा बढी सानाठूला हतियार बरामद गरेको थियो । लुटिएका हतियारमध्ये करिब ८० प्रतिशत फिर्ता ल्याएको प्रहरी दाबी छ ।

आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा चुनावमा लुटिएका हतियारका कारण सुरक्षा चुनौती हुने विश्लेषण सुरक्षा निकायको छ ।

प्रहरीले विशेष टोली बनाएर लुटपाटमा संलग्नहरूको फोटो तथा भिडियोका आधारमा हतियार लुट्नेहरूलाई पक्राउसमेत गर्दै आएको छ ।

प्रहरीका अनुसार सानासहित ठूला हतियार पनि ‘रिकभर’ गरेको छ । प्रदर्शनमा लुटिएका ठूला हतियार प्रदर्शनकारीले फालेको आशंका प्रहरीको छ । प्रहरी अधिकारीका अनुसार, पछिल्लो समय केही आपराधिक समूहले लुटेका हतियार खुलेआम बोकेर हिँड्ने तथा गोप्य सूचनाका आधारमा त्यस्ता व्यक्तिलाई पक्राउ गर्दै आएको छ ।

यता, प्रहरी प्रधान कार्यालयले लुटिएका हतियार नियन्त्रणमा लिन देशभरका प्रहरीलाई निर्देशन दिएको छ । केही दिनअघि मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीका लुटिएका हतियार ८० प्रतिशत ‘रिकभर’ भएको बताएका थिए ।