• फाल्गुन २३ २०८२, शनिबार

बैंक तथा वित्तीय संस्थालाई कृत्रिम वौद्धिकता अर्थात् (एआई) प्रयोग गर्न दिने तयारी

मंसिर २२ २०८२, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कानुनीरूपमै कृत्रिम वौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न दिने तयारी गरेको छ । पछिल्लो समय विश्वभर सबै क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको छ ।

त्यो क्रममा राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्था सहित लाइसेन्स प्राप्त संस्थाहरूलाई एआई प्रयोग गर्न दिने र त्यसलाई नियमन पनि गर्ने तयारी गरेको हो । यसका लागि राष्ट्र बैंकले एआई गाइडलाइनको मस्यौदा सार्वजनिक गरेको छ ।

त्यसमा सरोकारवालाहरुले पुस १५ गतेसम्म आफ्नो राय सुझाव दिन सक्नेछन् । त्यसपछि राष्ट्र बैंकले एआई गाइडलाइन जारी गर्नेछ । त्यसपछि सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले एआई प्रयोग गर्न सक्नेछन् ।

यो गाइडलाइन क, ख, ग र घ बर्गका बैंक तथा वित्तीय संस्था, नेपाल पूर्वाधार बैंक, भुक्तानी सेवा प्रदायक संस्था र भुक्तानी प्रणाली सञ्चालकलाई लागू हुनेछ । क्रेडिट स्कोरिङ, ठगी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन, अनुपालन अनुगमन लगायतका क्षेत्रमा एआई प्रयोग गर्न सकिने बताइएको छ ।

मस्यौदाअनुसार बैंकहरूले एआई रणनीति तथा सुशासन फ्रेमवर्कको बनाउनुपर्नेछ । बैंकहरुले आन्तरिक प्रयोजनका लागि तेस्रो पक्ष एआई प्रयोग गर्न सक्ने प्रस्ताव गरिएको छ ।

कागजातको मस्यौदा तयार गर्न, सारांश सिर्जना गर्न, जानकारीको विश्लेषण गर्ने लगायतका प्रयोजनमा तेस्रो पक्ष एआई प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ । यद्यपि, यसलाई आउटसोर्सिङ नमानिने मस्यौदामा उल्लेख छ ।

आउटसोर्सिङमार्फत पनि एआई सेवा प्रयोग गर्न सकिने प्रस्ताव गरिएको छ । जोखिम व्यवस्थापन गर्न, नियामक अनुपालनमा उपयुक्त कदम चाल्ने, डाटा सुरक्षा गर्न, लेखा परीक्षणलाई स्पष्ट पार्न लगायतका प्रयोजनमा तेस्रो पक्ष एआई प्रयोग गर्न सकिने बताइएको छ ।