काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएका कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताएका छन् ।
नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समिति ज्ञापनपत्र बुझ्दै संयोजक प्रचण्डले सो कुरा बताएका हुन् ।
पछिल्लो सरकारको नेतृत्व गरेको अवधि चितवन,महोत्तरीलगायतका स्थानबाट भूमिहीन तथा सुकुम्बासीका समस्या समाधानको काम सुरू गरिएको भए पनि पछिल्ला सरकारले यसतर्फ आवश्यक पहल नगरेको उनले उलल्लेख गरे । उनले समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल केन्द्रीय स्तरीय बस्ती व्यवस्थापन समितिले देशभरका भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि तत्काल पहल गर्न प्रचण्डसमक्ष आग्रह गरेको हो ।
समितिका अध्यक्ष अजय वैगारसहितको केन्द्रीय कार्यसमितिले सोमबार पार्टी केन्द्रीय कार्यालय,पेरिसडाँडामा संयोजक प्रचण्डलाई भेटी ज्ञापनपत्र बुझाएको हो । दीर्घकालीन रूपमा भूमिहीन, सुकुम्बासी तथा विपन्न नागरिकको जीवनस्तर सुधारका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै समितिले त्यसका लागि सक्रिय पहल गरिदिन आग्रह गरेको हो ।