सरकारी रवैयाको विरोध गर्दै भोटेकोसी वडा नम्बर २ का स्थानीय शनिबार बिहानैदेखि सडकमा धर्ना बसेपछि तातोपानी नाका बन्द भएको छ । इको पहिरोको सडकमा जम्मा भएका स्थानीयले खासाबाट तातोपानी आउने मालबाहक गाडी आवतजावत बन्द गरेका छन् । इको पहिरोले पाँचसयभन्दा बढी सर्वसाधारणको वस्ती जोखिममा छ ।
सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न समयमा दिएको ठेक्काले पहिरो नियन्त्रण प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।“बर्खाभर गाउँ पहिरोमा बगिरहने, हिउँदमा सरकार कानमा तेल हालेर बस्ने । अनि जब बर्खा लाग्छ रकम पचाउन पहिरो खोतल्ने परिपाटीले गाउँ नै जोखिममा परेको छ, “ स्थानीय राजु घतानीले भने ।
वडावासी सबै जम्मा भएर पहिरोमा धर्ना बसेको र इको पहिरो नियन्त्रणका लागि तत्काल काम सुरु गर्न सडक डिभिजन र ठेकेदारलाई दबाव दिएको उनले बताए ।
इको पहिरो, कोप्लाङ र १० किलो आसपास सडक बिग्रेको १० वर्ष बितिसकेको छ । तर, सरकारी निकायले करोडौँ खर्चेर पनि पहिरो नियन्त्रण गर्न सकेको छैन ।
सडक डिभिजन र ठेकेदारहरुलाई दिगो काम गर्न दबाव होस् भनेर सडकमा धर्ना दिएको स्थानीय शेरबहादुर मगरले जानकारी दिए । यो नाकामा बर्सेनि अरबौँ राजस्व उठ्छ । तर, जनताको बस्ती पहिरोमा बगेर सडक बन्द हुँदा सरकार जिम्मेवार बनेन, मगरले भने ।
बाह्रबिसे – लिपिङ सडक मर्मत तथा कालोपत्रे गर्न एक अर्ब ३४ करोडको ठेक्का लागिसकेको छ भने इको पहिरो नियन्त्रण गर्न ४८ करोड ४९ लाख बजेट परेको बताइएको छ । तर, काम सुरु भएको छैन । बजेट परेर पनि हिउँदमा काम नगर्ने सरोकारवालालाई दबाव दिन स्थानीय धर्नामा बसेका हुन् ।