काठमाडौँ । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५/२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा हटाउन थालिएको छ । १५ दिनको अल्टिमेटम शुक्रबार सकिएसँगै आज बिहान ५ बजे देखि घरटहरा हटाउन डोजर चलाइएको हो ।
बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौँडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ ।
सडक डिभिजन हेटौँडाले महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा ७५–७५ फिट विस्तार गर्न लागेको हो ।
सडक डिभिजनले सर्वोच्च अदालतको आदेशलाई सम्झाउँदै मङ्सिर ५ गते उक्त अल्टिमेटम दिएको थियो । तोकिएको समयमा संरचना नभत्काए सडक डिभिजन आफैँ भत्काउने सूचनामा उल्लेख थियो ।
सडक डिभिजन कार्यालयको तथ्यांक अनुसार बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रभित्र मात्रै ५ सय ३१ वटा संरचना भत्काउनु पर्नेछ । यो रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तीपुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म क्षेत्रभित्रको संरचना हो । यसमध्ये सडकको केन्द्रबिन्दुबाट दायाँतर्फ २३४ वटा र बायाँतर्फ २९७ वटा संरचना भत्काउनुपर्ने देखिएको डिभिजनले जनाएको छ ।