• फाल्गुन २३ २०८२, शनिबार

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

मंसिर १८ २०८२, बिहीबार

काठमाडौँ । काठमाडौँको रत्नपार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।

महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नपार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउँछन् ।

“निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नपार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्”, उनी भन्छन् ।

अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२÷७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ । काठमाडौँ महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् ।

महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।

रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु २०, सर्वसाधारणलाई रु ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु १०० लाग्ने गरेको छ ।
यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु १००, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु ५००, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार ५०० र सांस्कृतिक पोशाक झल्काउन जानेले रु १०० शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक रु ५० लाखदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ ।