• फाल्गुन २३ २०८२, शनिबार

आज यो:मरि पूर्णिमा,नेवार समुदायले हर्षोल्लासका साथ मनाउँदै

मंसिर १८ २०८२, बिहीबार

आज यो:मरि पूर्णिमा (योमरी पुन्हि) नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज यो:मरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

यो:मरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

यो:मरि बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन  छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको यो:मरि सगुनका रूपमा उपहार पठाउने चलनसमेत नेवार समुदायमा रहेको छ ।