गाउँको बिहानी सम्झँदा, मनभरि चिसो हावा बग्छ,
मकैको बोटबीच हाँसेको, आमाको त्यो स्वर अझै सजिएको छ ।
सहरका गल्लीमा हिँड्दा भने, मान्छेलाई भीडले धकेल्छ,
कसरी बाँच्नुपर्छ यहाँ—बुझेपछि मन थोरै अडिएको छ ।
बुबाको काँधमा टाँसिएको, खेत–खलियानको पसिना,
गाउँको त्यो श्रमले बनेको, मूल्य–मान्यताले मन सजिएको छ ।
सहरमा त कसैले कसैलाई चिन्दैन,
यहाँ पैसा बोकेपछि मात्र, मान्छेको परिचय बन्छ ।
आमाले पकाएको भातको सुवास,
सहरका होटलको मसला भन्दा अति प्रिय लाग्छ,
तर यही सहरमा उही आमाबाबा,
छोरीकै भविष्यका लागि आज पनि पीडा सहेर गाउँमा ।
गाउँको मेलोमा बज्ने मादल,
छोरीको कानमा अझै गुञ्जिरहन्छ, तर सहरका कंक्रिटका भित्ताले भने,
जीवनका सपना र रहर हरेक दिन नियालिरहे जस्तो छ ।
छोरी भएर म बुझिरहेकी छु,
आमाबाबाको दुःख कतै हराएको छैन,
मेरा लागि शत्रुलाई पनि हात थापेको
घर धितो राखेको बिर्सेको छैन ।
सहर कठिन छ, कठोर छ,
तर परिवारका लागि मान्छे बलियो बन्छ,
त्यसैले त आमाबुबाको त्यो मौन मुस्कान,
छोरीलाई हरेक दिन फेरि उठ्न सिकाउँछ ।