काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई कमजोर पार्ने खेलहरू चलिरहेको बताएका छन् ।
शनिबार नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिस डाँडामा आयोजित जेनजीसँग नेकपा विषयक अन्तरसम्वाद कार्यक्रममा प्रचण्डले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सार्वभौमिकतालाई कमजोर पार्ने खेलहरू चलिरहेको भन्दै राष्ट्र पहिलो भने भावनाका साथ सबै पुस्ताका नेपालीहरू एकजुट भएर राष्ट्र बनाउने कुरामा उच्च प्राथमिकता दिन जरुरी रहेको बताए ।
जेनजीका विचार, एजेन्डा र शक्तिलाई एकसाथ अघि बढाएर नेपाली र नेपाललाई विजय गराउनुपर्ने उनले बताए । त्यस्तै प्रचण्डले युवाहरूलाई वैचारिक, राजनीतिक, भावनात्मक रूपमा नयाँ नेपालको नयाँ नेतृत्वका रूपमा तयार पार्ने र आउने चुनावमा धेरै भन्दा धेरै युवाहरूलाई अवसर दिने बताए ।
प्रचण्डले जेनजी युवा पुस्ताहरूले मुलुकको सुशासनका लागि लिएको पहलकदमीले देशलाई नयाँ चेतनातर्फ अघि बढ्न उत्प्रेरित र बाध्य बनाएको उल्लेख गरे । कार्यक्रममा प्रचण्डले केही युवाहरूलाई युवाहरूलाई नेपाली कम्युनिस्ट पार्टी प्रवेश गराएका थिए ।