काठमाडौं । एमालेलाई कीर्तिपुरमा पार्टी केन्द्रीय कार्यालय बनाइदिने निर्णयबाट व्यवसायी मीनबहादुर गुरुङ पछि हट्ने संभावना बढेको छ ।
पुराना दल र नेताहरुप्रति जनताको वितृष्णा र आक्रोस बढ्दै गएको बेला कुनै अमुक दललाई झण्डै डेढ अर्ब रुपियाँ बराबरको जग्गा दान र पार्टी कार्यालय निर्माण गर्ने कुराको जनस्तरबाट चर्को आलोचनासँगै निर्णय पुनर्विचार गर्न आग्रह भएपछि गुरुङ आफ्नो निर्णयबाट पछि हट्न लागेका हुन् ।
उनले कर दिवसको दिन मंसिर १ मा उत्कृष्ट करदाताको रुपमा सम्माजित हुने क्रममा पनि एमालेलाई जग्गा दान दिने र पार्टी कार्यालय बनाइदिने घोषणा गर्नु गलत भएको स्वीकार गरेका थिए ।
उक्त निर्णयकै कारण जेन–जी आन्दोलनका क्रममा आफ्ना नौ वटा सुपरस्टोरहरुमा आगजनी र अन्य केहीमा तोडफोड गरी अर्बौं नोक्सान बनाइएको थियो ।
डा. भगवान कोइरालालाई बाल अस्पतालहरु बनाउन ४१ करोड दान दिने निर्णय गर्दा निकै प्रसंशा बटुलेका व्यवसायी गुरुङले एमालेलाई आफै जग्गा दिएर पार्टी कार्यालयसमेत बनाइदिने निर्णय गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना समेत खेप्नुपरेको थियो ।
गुरुङ निकट भाटभटेनीका एक प्रतिनिधिले भने–एमालेलाई पार्टी कार्यालय बनाइदिने कुराबाट सर पछि हट्नुहुन्छ होला । किनभने धेरै आलोचना पनि भयो । क्षति पनि भयो । ब्राण्डको इमेजमा पनि असर पर्यो । देशको स्थिति यस्तै छ । के हुने हो ? थाहा छैन । बरु कसैसँग नजिक नभई स्वतन्त्ररुपमा काम गर्दा नै अल्ली सहज हुने महशुल भइरहेको छ ।’
यद्यपि एमालेलाई पार्टी कार्यालय नबनाइदिने भनेर निर्णय घोषणा गरेर नै गर्न नमिल्ने उनको तर्क छ । भाटभटेनीमा सानो किराना बसलबाट व्यवसाय सुरु गरेका व्यवसायी गुरुङले मेहनत गर्दै अहिले देशभर शाखा सञ्जाल रहेको ठूलठूला भाटभटेनी सुपरस्टोरहरु सञ्चालन गर्न सफल भएका छन् ।
सामाजिक कार्यमा समेत निकै ठूलो सहयोग गर्दै आएका उनले हजारौंलाई रोजगारी समेत दिँदै आएका छन् । व्यवसायी गुरुङलाई कुनै दल र नेताभन्दा नजिक नभई स्वतन्त्ररुपमा व्यवसाय गर्न दबाब बढ्दै गएको छ ।