• फाल्गुन २६ २०८२, मंगलवार

वीरेन्द्रकाे जग्गा भाडामा दिने विवादमा नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ

कार्तिक ३० २०८२, आईतवार

काठमाडौं । नेपाल प्रहरीले नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको एआईजी मनोज केसीले जानकारी दिए ।

दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौताबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि तत्कालीन सचिव लेखबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

नेपाल ट्रष्टले सात वर्षअघि दरबारमार्गस्थित जग्गा थमसेर्कुलाई अनियमित रुपमा लिजमा दिने निर्णय गरेको थियो । त्यतिबेला नै ट्रष्टको निर्णयको चौतर्फ विरोध भएको थियो ।

अनियमितता र भ्रष्टाचार भएको पर्याप्त प्रमाण हुँदाहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात वर्षअघि मिलेमतोमा फाइल तामेलीमा राख्ने निर्णय गरेको थियो । अख्तियारले सात वर्षपछि त्यही विषयमा हात हालेको हो ।