काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितीमा जमलस्थित चेम्बर भवनमा समसामयिक अर्थतन्त्रबारे वृहत छलफल गरेको छ ।
जेन्जी आन्दोलन पछिको अर्थतन्त्र, लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र रोजगारी सिर्जना जस्ता विषयमा चेम्बर पदाधिकारी, निजी क्षेत्रका अन्य विभिन्न संगठनका प्रतिनिधी सहित छलफल भएको थियो ।
कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थमन्त्री खनाल समक्ष, वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सुरक्षा, कर सम्वन्धी व्यवस्था, पुँजीगत खर्च सुधार, घर जग्गा कारोबार र सहकारी लगायतका विषय समावेश गरेर विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
अध्यक्ष अग्रवालले लगानीकर्ताहरुको खस्किएको मनोबल उकास्न एवं लगानीमैत्री वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने बताए- ‘जसरी विदेशी लगानीकर्ताहरु सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवद्र्धन एवं सुरक्षा सम्झौताको माग गर्दछन भने स्वदेशी लगानी कर्ताको मनोबल उकास्न पनि सरकारले अविलम्व लगानी प्रवर्धन एवं सुरक्षा नीति ल्याउनुपर्दछ ।’
भारतमा जीएसटीका दरहरुमा हालै भएको व्यापक कटौतीले नेपालमा पनि भन्सारका दरहरुलाई समायोजन गरी प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । भन्सार दरलाई अधिकतम २५ प्रतिशत कायम गरिनुुपर्ने चेम्बरको माग रहेको छ ।