• फाल्गुन २३ २०८२, शनिबार

बलिवुडको अहिलेसम्मकै सुपरहिट फिल्म शोले १५ सय स्क्रिनमा रिलिज हुदै

कार्तिक ३० २०८२, आईतवार

काठमाडौँ । निर्देशक रमेश सिप्पीको फिल्म ‘शोले’ ५०औं वार्षिकोत्सवको अवसरमा फोरके मा थिएटरहरूमा पुन: रिलिज हुँदैछ । यस पटक, यो ‘शोले- द फाइनल कट’ को रूपमा थिएटरहरूमा फर्किँदैछ ।

धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी र जयाको प्रतिष्ठित फिल्म ‘शोले’ फेरि एक पटक थिएटरहरूमा रिलिज हुँदैछ । फिल्म डिसेम्बर १२, २०२५ मा भारत भरका १५ सय स्क्रिनहरूमा रिलिज हुनेछ । यस पटक, दर्शकहरूले फिल्मको १९७५ मा आपतकालको समयमा सेन्सरशिपको कारण परिवर्तन गरिएको दृश्य पनि हेर्न पाउने छन् । जसमा ठाकुर (सञ्जीव कुमार) ले बदला लिन गब्बर सिंह (अमजद खान) लाई काँडेदार जुत्ताले कुट्छन् । सेन्सर बोर्डले यो दृश्यलाई धेरै हिंसात्मक ठानेर हटाएको थियो ।

फिल्म ‘शोले’ धेरै पटक पुन: रिलिज भएको छ । २००४ मा यसको ३०औं वार्षिकोत्सवको अवसरमा यसलाई ७० मिमीमा पुनर्स्थापित गरिएको थियो । त्यसपछि २०१४ मा थ्रीडी संस्करण र २०२४ मा फोरके संस्करण गरिएको थियो । यसको ५०औं वार्षिकोत्सवको अवसरमा अगस्ट १५, २०२५ मा सबैभन्दा पछिल्लो पुन: रिलिजको घोषणा गरिएको थियो । फिल्म अब डिसेम्बर १२, २०२५ मा भारतभर १५ सय स्क्रिनमा रिलिज हुनेछ ।

१९७५ मा रिलिज भएदेखि, ‘शोले’ ले बलिवुड फिल्म उद्योगमा गहिरो प्रभाव छोडेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको भारतीय फिल्म हो । यस वर्ष टोरन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि यसको प्रदर्शन गरिएको थियो । दर्शकहरूले अमिताभ बच्चन, धर्मेन्द्र, जया बच्चन, हेमा मालिनी, संजीव कुमार र अमजद खान जस्ता स्टारहरूको अभिनय मन पराए, जसले गर्दा यो एक कल्ट फिल्म बन्यो ।