काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पार्टीमा फरक विचार राख्दैमा मिडिया ट्रायलको बारम्बार सिकार हुनुपरेको बताएकी छिन् ।
उनले घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि भन्दै बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउने चेतावनी समेत दिएकी छन् । उनले एक व्यक्तिले देश नबन्ने भन्दै देश बनाउन सज्जनहरुको सहकार्य चाहिने बताएकी छिन् ।
तोसिमाले भनेकी छन्:
‘सबै अट्ने सबै खट्ने’ पार्टी बनाउने मार्गचित्र पश हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरुको अत्याधिक दबाबको कारण संस्थापन पक्ष बाध्य बन्यो। संगठनमा पैसा, पसिना र समय खर्च गरेर दिनरात खटिनुभएका संगठनका साथीहरुलाई विशेष धन्यवाद त्यस दिन त्यो आवाज र साथ समर्थनको लागि। तर फेरि निर्णयमा न बहुमतको कदर भयो। न विधि पद्दतिमा नै चल्यो ।
घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि ! आफू र आफ्नो पार्टी सुधार्न नसक्ने, रिफर्मको एजेण्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, “सबै अट्ने सबै खट्ने” गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरु पार्टीले गुमाउँदैछ। फरक विचार राख्दैमा फरक रोडम्याप ल्याउँदैमा तिमीहरुको मिडिया ट्रायलको बारम्बार सिकार हुनुपर्छ र आफ्नो अस्तित्व नै एक व्यक्तिले दया गरेर पाएको भन्ने गरी आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरु एक पछि अर्को निस्किन्छन् नै। केहि बोलेर केहि नबोलेरै । फेरि भन्छु, एक व्यक्तिले देश बन्दैन। देश बनाउन सज्जनहरुको सहकार्य चाहिन्छ ।