• फाल्गुन २३ २०८२, शनिबार

ग्लोबल आइएमई बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने

कार्तिक २६ २०८२, बुधबार

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयर धनीहरूलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफासहितबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने बैंकको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले रु. ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र रु. ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो ।

कार्यक्रममा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति–नियमको पूर्ण पालना गर्दै सेयर धनीलाई उचित लाभांश प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बैंकले नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै अघि बढ्ने योजना रहेको पनि बताए ।

साधारणसभामा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, नियामक निकायका प्रतिनिधि, शेयरधनी, संस्थागत लगानीकर्ता, सञ्चारकर्मी र बैंकका कर्मचारीहरू सहभागी थिए ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल फैलाउन सफल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन् ।

बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशबाट रकम भित्र्याउँदै आएको छ ।

ग्लोबल आइएमई बैंकले हालसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ ।