काठमाडाैं । माओवादी केन्द्र विघटन गरी नेपाली कम्युनिस्ट पार्टी निर्माण गर्ने निर्णयप्रति गाउँतहबाट विरोध सुरु भएको छ । साविक माओवादी केन्द्रको रामप्रसाद राई गाउँ पार्टी समिति भोजपुरले एकताप्रति असहमति प्रकट गरेको छ ।
मंगलबार विज्ञप्ति जारी गर्दै गाउँ पार्टी समितिका अध्यक्षलगायत पदाधिकारीले माओवादीको विचार, इतिहास र पहिचान गुमाउने गरी भएको एकताप्रति गम्भीर असहमति रहेको बताएका छन् ।
‘बदलिएको परिस्थितिमा आन्तरिक पाटीलाई रूपान्तरणसहित एकताबद्ध बनाउनु पर्ने थियो । तर जनता र कार्यकर्ताको भावनाविपरीत हठात पार्टी एकताको नाममा आफ्नो विचार, इतिहास र पहिचान गुमाउने गरी साथै पार्टीको छविमाथि नै उत्तर दिनु नसक्ने गरी प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो प्रकारले गरिएको एकताप्रति हाम्रो गाउँ पार्टीको गम्भीर असहमति रहेको स्पष्ट गर्दछौँ ।’