• फाल्गुन २३ २०८२, शनिबार

अमेरिकालाई टक्कर दिने चिनियाँ युद्दपाेत ‘फुजियान’ सैन्य सेवामा प्रवेश

कार्तिक २१ २०८२, शुक्रबार

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियान सेवामा प्रवेश गरेको छ। चिनियाँ सञ्चारमाध्यमहरूले नै याे कुरा सार्वजनिक गरेका छन् ।

फुजियान चीनको तेस्रो युद्धपोत हो। यसमा इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट पनि छन्। यसले विमानलाई उच्च गतिमा उडान गर्न सक्षम बनाउँछ।

जहाज संख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो नौसेना बनेको चीनका लागि यो युद्धपोतको प्रक्षेपण एक महत्त्वपूर्ण कदम हो। राष्ट्रपति सीको नेतृत्वमा चीनले आफ्नो नौसेनालाई द्रुत गतिमा विस्तार गरिरहेको छ। यसले गर्दा अमेरिका र उसका सहयोगीलाई सैन्य क्षमता बलियो बनाउन दबाब बढिरहेको छ।

युद्धपोत कस्तो छ ?
चिनियाँ सरकारी मिडियाका अनुसार फुजियानको इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट र फ्ल्याट फ्लाइट डेकले तीन फरक प्रकारका विमान उडान भर्न सक्छ।

यो चिनियाँ निर्मित युद्धपोतले भारी हतियार र इन्धनयुक्त विमानहरू प्रहार गर्न सक्छ र लामो दूरीमा शत्रुको लक्ष्यमा प्रहार गर्न सक्छ। यो चीनका दुई विद्यमान युद्धपोत, लिओनिङ र शानडोङ भन्दा पनि शक्तिशाली छ। दुवै रूसी सहयोगमा निर्माण गरिएका थिए।

सरकारी सञ्चारमाध्यमले फुजियानलाई चीनको नौसेनाको विकासमा प्रमुख कोसेढुङ्गाको रूपमा व्याख्या गरेको छ। सरकारी मिडियाले इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रविधि प्राप्त गर्ने यो सी जिनपिङको व्यक्तिगत निर्णय भएको दाबी गरेको छ।

अमेरिकालाई कति टक्कर ?
चीनभन्दा पहिले फुजियान जस्तो इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रणाली भएको विमानवाहक जहाज अमेरिकाकाे थियो। पछिल्ला समय अमेरिका र चीनबीच प्रभुत्वलाई लिएर बढ्दो द्वन्द्व नि:सन्देह एसिया प्रशान्त सुरक्षामा एक प्रमुख मुद्दा हो।

चीनको नौसेनाले अब विश्वको सबैभन्दा ठूलो नौसेना बनेको अमेरिकालाई उछिनेको छ। तर विज्ञहरूले जहाजको संख्याको आधारमा मात्र शक्तिको मूल्यांकन गर्नु गलत भएको विश्वास व्यक्त गरेका छन् ।

हाल अमेरिका धेरै क्षेत्रमा चीनभन्दा अगाडि छ। चीनसँग अहिले तीन आधुनिक विमान वाहक छन्। जबकि अमेरिकासँग यस्ता ११ युद्धपोत छन्।

आणविक पनडुब्बी, क्रूजर, विनाशक वा ठूला युद्धपोतको सन्दर्भमा पनि अमेरिकाको नौसैनिक क्षमता चीनको भन्दा धेरै राम्रो छ। तर चीनले आफ्नो नौसेनालाई अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी नौसेनाले २०२० देखि २०४० सम्ममा चिनियाँ नौसेना जहाजको संख्या करिब ४० प्रतिशतले बढ्ने अनुमान गरेको छ।

तर अमेरिका अझै पनि प्राविधिक क्षेत्रमा धेरै अगाडि छ र धेरै विमान वाहक तैनाथ गर्न सक्छ।

अमेरिका कसरी छ चीनभन्दा अगाडि ?
आणविक शक्तिले अमेरिकी युद्धपोतलाई लामो समयसम्म समुद्रमा रहन अनुमति दिन्छ। अर्कोतर्फ फुजियान परम्परागत इन्धनमा चल्छ। यसको अर्थ यसलाई इन्धन भर्नका लागि किनारमा फर्कनु पर्छ वा ट्याङ्करहरूद्वारा समुद्रमा इन्धन भर्नु पर्छ।

दुई पूर्वअमेरिकी नौसेना अधिकारीहरूले गत महिना सीएनएनलाई बताएअनुसार फुजियानमा इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रणाली प्रविधि भए पनि वाहकको उडान सञ्चालन अझै पनि ५० वर्ष पुरानो अमेरिकी विमान वाहकको क्षमताको करिब ६० प्रतिशतमा मात्र चल्नेछ।

करिब ८०,००० टन तौल भएको फुजियानलाई अमेरिकी नौसेनाको ९७,००० टन क्षमता भएको निमित्ज वर्ग युद्धपोतको आकार र क्षमताको सबैभन्दा नजिक मानिन्छ।

चीनले अर्को नयाँ विमान वाहक पनि निर्माण गरिरहेको छ। यसलाई हाल टाइप ००४ भनिन्छ। यसले इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रणाली प्रविधि पनि प्रयोग गर्नेछ। यो फुजियान भन्दा फरक आणविक शक्तिबाट चल्ने अपेक्षा गरिएको छ।