काठमाडाैँ । नेकपा एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अमरबहादुर थापा लगायतको अलग समूह बनेको छ । यो समूह अध्यक्ष माधवकुमार नेपालसँगै पार्टी एकतामा पनि नजाने र झलनाथ घनश्याम समूहमा पनि नलाग्ने भएको छ ।
यसअघि यी नेताहरू अध्यक्ष माधव नेपालको निर्णयमा विमति राखेर बनेको झलनाथ खनाल र घनश्याम भुसाल समूहले शनिबार गरेको भेलामा सहभागी रहेका थिए ।
‘हामी झलनाथ खनाल र घनश्याम भुसालको समूहमा नरहने भयौँ,’ पूर्वसांसद रहेका नेता कृष्णकुमार श्रेष्ठले अमरबहादुर थापाले भने, ‘केही दिन हामी कतै पनि लाग्दैनौं ।’
श्रेष्ठका अनुसार आफूसहित रामकुमारी झाँक्री, डा.वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायतले सय जना जति यसरी बस्ने तयारी भइरहेको बताए । माधव नेपालले माओवादीसँगको एकतामा जान जसरी निर्णय लिए त्यसमा असहमति रहेको उनीहरूको भनाइ छ । नेता श्रेष्ठले केही दिनपछि एमालेमा जाने कि फरक ढङ्गले अघि बढ्ने बताए ।
‘हामी आफै पनि शक्ति हौँ तर अरूले हामीलाई देखाएर राजनीति गर्ने अवसर किन दिनु भनेर हामीले यो निर्णय गरेका हौ’, श्रेष्ठले भने, ‘हामीलाई एमाले र त्यसको नेतृत्वले ठुलो पद दिनुपर्दैन मिठो बोली दियो भने एमालेमै पनि फर्कन सक्छौँ ।’