• फाल्गुन २४ २०८२, आईतवार

कांग्रेसको केन्द्रीय समिति आज पनि बस्दै,गगन थापाले गरे बहिष्कार

कार्तिक १४ २०८२, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति आज पनि बस्दैछ ।  बैठक आज दिउँसो १ बजे बस्ने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए । सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बसेर विहिबारसम्मका लागि स्थगित गरिएको थियो ।

विहिबारदेखि पुन: शुरु भएको बैठकमा नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा संस्थापन पक्ष र इतर पक्षबीच जुहारी चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले मङ्सिर भित्र महाधिवेशन गर्न नसकिने भन्दै आएको छ भने नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका छन् ।

यसैबीच कांग्रेसका ५३ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विशेष महाधिवेशनको समेत माग केन्द्रीय कार्यालयमा दर्ता गराएको विषय पनि यस केन्द्रीय समितिको मुख्य विषय बनेको छ ।

जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कार्यबाहक सभापति पूर्णबहादुर खड्काले रोकेपछि यो विवाद अझ बढेको हो ।

महामन्त्री थापाले विहिबारको केन्द्रीय समिति बैठकनै बहिष्कार गरेर विद्रोहको संकेत समेत दिएका छन् । विहिबारको बैठक सुरु हुनुअघि कार्यतालिकाको विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग थापा र शर्माको अनौपचारिक छलफल भएको थियो ।

सो छलफलमा बैठकमा कार्यतालिका प्रस्तुत गर्ने विषयमा कार्यवाहक सभापति खड्का तयार नभए पछि महामन्त्री थापा केन्द्रीय समितिको बैठकमै नबसेर बाहिरिएका थिए ।

कांग्रेसमा सभपतिको सहमतिमा महामन्त्रीले बैठकमा एजेन्डा प्रस्तुत गर्ने चलन रहेकाले आफुले तयार गरेको महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न नपाउने भएपछि थापाले केन्द्रीय समितिको बैठकनै बहिष्कार गरेको उनी निकट नेताले बताएका छन् ।