• फाल्गुन २३ २०८२, शनिबार

फिल्म ‘वरिष्ठ बलराम’ ले पाँच दिनमा कमायो दुई करोड

कार्तिक ११ २०८२, मंगलवार

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।

कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ले कात्तिक १० गतेसम्म दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता आशिष एच तामाङले जानकारी दिए ।

‘हालसम्म हाम्रो चलचित्रले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,’ निर्माता तामाङले भने, ‘अहिले पनि उच्च अकुपेन्सीमा हाम्रो चलचित्र चलिरहेको छ ।’

भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको उनले जानकारी दिए ।

‘रगतको मात्रै होइन भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै धेरै मन पराइरहनु भएको छ,’ निर्माता तामाङले भने, ‘स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरी पनि मन पराइदिनु भएको छ ।’

दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।