• फाल्गुन २७ २०८२, बुधबार

माैसममा भारी आउँदै बदलाव, कहाँ कहाँ हुँदैछ भारी वर्षा र हिमपात

कार्तिक १० २०८२, सोमबार

काठमाडाैं । अरब सागर र बंगालको खाडीमा उत्पन्न दुई मौसमी प्रणालीको संयुक्त प्रभावले नेपालभर मौसम प्रभावित हुने संकेत देखिएको छ।

जल तथा मौसम विज्ञान विभागले पोस्ट-मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव आगामी दुई दिन देशभर महसुस हुने देखिन्छ।

विभागका अनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान छ भने एक-दुई स्थानमा भारी हिमपातको पनि संभावना देखिएको छ।

यस प्रणालीको प्रभावले कृषि, दैनिक जनजीवन, पर्वतारोहण र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने वा बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षा र सावधानी अपनाउन चेतावनी दिइएको छ।

काठमाडौंसहित धेरै भागको आकाश अहिले घना बादलले छाएको छ। सोमबार दिउँसो काठमाडौंमा घाम र बादलको क्रम मिलेर गएको थियो, तर अपराह्नदेखि डम्म बादल देखिए पनि पानी परेको छैन।

मौसमविद विनोद पोखरेलका अनुसार बंगालको मोन्था चक्रवात र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभावले नेपालभरि बादल फैलिरहेको छ।

पूर्वानुमान अनुसार भोलिदेखि पश्चिमी नेपालमा वर्षा सुरु हुनेछ। बिहीबारदेखि शनिबारसम्म पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ। विपद् विशेषज्ञ धर्मराज उप्रेतीका अनुसार यी प्रणालीले पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि मध्यम हिमपात गराउने सम्भावना छ।

बंगालको प्रणाली तुलनात्मक रूपमा शक्तिशाली भएकाले आउँदो शुक्रबार र शनिबार बागमती, मधेस र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ।