काठमाडौं । नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
आइतबार लिग–२ अन्तर्गतको युनाइटेड अरब इमिरेट्स (यूएई) र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृखंलामा नेपाल १०६ रनले पराजित गरेको हो ।
जितसँगै अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । २२ खेल खेलेको अमेरिकाले ३० अंक बनाएको हो । अमेरिका दोस्रो स्थानको स्कटल्यान्डसँग समान अंक बनाए पनि रन रेटको आधारमा शीर्ष स्थानमा छ । पराजित नेपाल भने १७ खेल खेल्दा १२ अंकमा सीमित छ ।
आइतबार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरिले सर्वाधिक ४० रन बनाए । दीपेन्द्रले ६० बलमा तीन चौका प्रहार गरे । ओपनर आसिफ शेखले ३७ रन जोडे । भीम सार्कीले २९ रन बनाए । आरिफ शेखले २० रन बनाउँदा सोमपाल कामीले ११ रन बनाए ।
अमेरिकाका हर्मित सिंहल एक्लैले ६ विकेट लिए । कुल आठ ओभर बलिङ गरेका हर्मितले एक मेडन फ्याक्दै २७ रन खर्चिए । सुभम रञ्जानेले दुई विकेट लिँदा रुसिल उगारकारले एक विकेट लिए ।
त्यसअघि, टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रनको योगफल खडा गरेको थियो ।
अमेरिकाका लागि मध्यक्रमका ब्याट्सम्यान मिलिन्द कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ७० रनमा अविजित रहे । उनले ५० बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरे ।
ओपनर स्मित पटेलले इनिङ्सको जग बसाल्दै १०० बलमा ७५ रन को महत्त्वपूर्ण योगदान दिए । उनले ९ चौका प्रहार गरे । अर्का ब्याट्सम्यान साइतेजा मुक्कमल्लाले ५८ बलमा तीन चौका र एक छक्कासहित ४२ रन बनाए । कप्तान मोनान्क पटेलले १७ बलमा १० रन जोडे । शुभम रञ्जानेले १९ रन र शायान जहांगीरले ११ रनको योगदान दिए ।
नेपालको बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर दुई विकेट लिए । यस्तै, सोमपाल कामीले नौ ओभरमा ५६ रन दिएर एक विकेट र आरिफ शेखले पाँच ओभरमा १९ रन खर्चेर एक विकेट लिए ।