दोस्रो ठूलो महान चाड तिहार घरआँगनमा आइसकेको छ । गत शनिबारबाटै शुरू भएको तिहार कृष्ण पक्षको औंशीलाई धन धान्यको देवी लक्ष्मीको पूजा गरेर मनाइएको छ। घरआँगन, चोटाकोठा र वरिपरिको सरसफाई गरी धनकी देवी लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ। आज बिहान ऐश्वर्यकी देवी लक्ष्मीको स्वरूप गाईको पूजा गरिन्छ भने बेलुका विशेष श्रृंगार गरी सजाइएकी देवी लक्ष्मीको विशेष पूजाआराधना गरी त्यसपछि नेपालीको मौलिक संस्कृति देउसीभैलो खेल्ने गरिन्छ ।
तिहार कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरू भएर कात्तिक शुक्ल पक्षको द्वितिया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ। यसरी पाँच दिनसम्म मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको पौराणिक ग्रन्थमा उल्लेख छ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई यमराजको दूतका रुपमा पूजा गरिन्छ । दोस्रो दिन यमराजको दूतको रूपमा कुकुरको पूजा गरिन्छ । तेस्रो दिनलाई गाईतिहारे औंसी भनिन्छ । त्यस दिन हिन्दु धर्मावलम्बीले गाईलाई माताका रुपमा पूजा गर्ने र वेलुकी धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानेर साँझ घरघरमा लक्ष्मीपूजा गर्ने चलन छ। चौथो दिन गोवर्द्धन पूजा गरिन्छ। पाँचौ दिन भाइटीका पर्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी भाइटीका मखमली फूल, लगाइदिएर सुख, समृद्धि तथा दीर्घायुको कामना गर्छन् । भाइटीका चेली माइतीबीच सम्बन्ध प्रगाढ बनाउने माध्यम हो ।
तिहारको अलग-अलग दिनको अलग-अलग महत्व छन् र फरक-फरक ढंगले प्रकृतिको पूजा गरेर मनाइने तिहारको लौकिक परम्परा छ । तिहारमा झिलिमिली बत्ती बालेर, सयपत्री फूलको मालाले पूजाकोठादेखि घरको ढोका हुँदै आगनको मुख्य प्रवेशद्वारमा केराको थम्बा गाडेर फूल र बत्तीको मालाले सिंगारेर देवी लक्ष्मीलाई प्रशन्न तुल्याउने परम्परा रहेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नेदेखि देउसी भैली खेल्नेसम्मको परम्परा तिहारले बोकेको छ । तिहारमा नेवार समुदायमा लोकप्रिय म्हपूजा पनि गर्ने चलन छ। आत्मा तृप्त भएपछि परमात्मा तृप्त हुन्छन् भन्दै आत्मा पूजिने चलन नेवार समुदायमा छ । खासगरी नेवार समुदायले यसै दिनदेखि शुरू भएको नेपाल सम्वतलाई आधार मानी आफ्ना दिनचर्या सञ्चालन गर्दै आएका छन् ।
पछिल्लो समय तिहार पनि विकृतिमय बन्दै गएको छ । बदलिँदो समय र परिवेशअनुरूप तिहार मनाउने शैली फेरिँदै गएको छ । आधुनिकताले थिच्दै लगेको आजको नेपाली समाजमा यमपञ्चकका पाँच दिनहरू मनाउने प्रचलन हराउँदै जान थालेको छ । धन्तेरशको नाममा घर साजसज्जा र प्रयोगका लागि अनेक किनमेललगायतका कारण तिहार खर्चिलो बन्दै पनि गएको छ। धन्तेरशमा यी सामन घरमा भित्राए शुभ हुने भनेर बजारमा सुनचाँदी किन्ने,तामाका भाडाकुडा किन्ने चलन बढेको छ । विशुद्ध मनोरञ्जनका रुपमा लिइनुपर्ने देउसी-भैलोलाई कतिपयले अर्थ संकलनको माध्यम पनि बनाउने गर्नाले यसले विकृति बढाएको छ। तिहारको नाममा खेलिने जुवा-तासले धेरैको घरवास उठीवास लगाएको छ । तिहारमा ठुलो आवाजमा झिलमिल हुने गरि पड्किने बम भन्दै महंगो पर्ने पटकाजस्तो विस्फोटक पदार्थ अत्यधिक प्रयोग हुने गरेको पाइएको छ । यस्ता विस्फोटक पदार्थले दुर्घटना निम्त्याउनाले धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।
तिहारलाई बोझिलो, खर्चिलो र भड्किलो नबनाएर आफ्नो हैसियतअनुसार मनाउनु पर्दछ। धन्तेरशको नाममा शुभ असुभ हुने भन्दै आफ्नो हैसियत भन्दा माथी रहेर अरुको देखासेखी गरेर खर्च गर्नु हुँदैन । पटकाको नाममा झिलमिल हुने महंगो र खर्चिलो पटका प्रयोगमा कमि ल्याउनु आवश्यक छ । यसले हाम्रो वातावरणमा समेत असर पुग्ने हुँदा यसबारे सचेत रहनु जरुरी छ । घर सजाउनका लागि पहिले फुल प्रयोग गर्ने गरिन्थ्यो, तेलको दियो बालेर घर उज्यालो बनाइने गरिन्थ्यो । तर अहिले बढ्दो विकृतीले गर्दा फुल र दियोको तेलको सट्टा घरै ढाक्ने गरेर आयातित बत्ती बालेर घर सजाउने गरिएको छ । यसको प्रयोगमा कमि ल्याउनुपर्दछ । अरुको देखासेखी र सौखले आर्थिक तथा मानसिक तनाव समेत बढने हुँदा यस्ता विकृती रोक्न एकपटक मनैबाट सोच्न जरुरी छ ।