काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका बेला नयाँ बानेश्वर क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि निजामती (सिभिल) अस्पताल घाइतेहरूले भरिएको थियो । प्रदर्शनस्थल नजिकै भएका कारण अस्पताल प्रभावित हुनु नौलो नभए पनि यो अस्पतालको सेवा र विशेषताको आधारमा आकस्मिकता र ठुला दुर्घटनाका लागि स्थापना भएको होइन ।
यद्यपि, कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार धेरै ठुला विपत्तिमा यसले सफलतापूर्वक काम गरेको छ । आन्दोलनका बेला अस्पतालभित्रै टियर ग्याँस आउँदा र गोलीका छर्राहरूले स्वास्थ्यकर्मीहरू घाइते हुँदा पनि सेवा नरोकिएको उनले बताए ।
युद्ध मैदान बन्दा अस्पतालको मर्यादा उल्लङ्घन
आन्दोलनको पूर्वसूचना भए पनि कस्तो र कत्रो आकारमा क्षति हुन्छ भन्ने आँकलन थिएन । डा. रेग्मीका अनुसार २३ गते बिहानै सिंहदरबारमा बैठकमा रहँदा साँझ यस्तो ठुलो क्षति होला भन्ने कसैले पनि सोचेको थिएन । बैठक टुङ्ग्याएर अस्पताल फर्किदासम्म आन्दोलनका कारण ठुलो क्षति भइसकेको थियो ।
अस्पतालले डिजास्टर म्यानेजमेण्ट प्रोटोकल अपनाएर सेवा दियो । तर, आकस्मिक कक्षमा दुई दिन गरेर चार सय २० जना बिरामी एकैचोटी आउँदा अन्य सेवामा त असर पर्नु स्वाभाविक नै भयो । यसका साथै, एम्बुलेन्स आउने अवस्था नहुनु, सडकको पहुँच नहुनु र अस्पतालभित्रै युद्धभूमिजस्तो वातावरण बनेकाले बाहिरबाट स्वास्थ्यकर्मीहरू आउन नसक्नु थप चुनौती बन्यो ।
सबैतिरबाट प्रहरीको घेरामा परेपछि आन्दोलनकारीहरूले अस्पतालभित्र छिरेर प्रशासनिक भवनहरूमा आगो लगाउने प्रयास गरे । यदि अगाडिको गेट खोलिदिएर पछाडिको गेटबाट बाहिर जाने व्यवस्था नगरिएको भए अस्पतालको गेट अगाडि ठुलो मानवीय क्षति हुन्थ्यो । अर्कोतर्फ, सुरक्षाकर्मीले पनि अस्पतालभित्रै आन्दोलनकारीको सेल्टर छ भन्दै भित्रै ढुंगामुढा, टियरग्याँस र गोलीका छर्राहरू हान्ने काम गर्यो ।
कार्यकारी निर्देशक रेग्मीले आन्दोलनकारी र सुरक्षाकर्मी दुवैले अस्पतालको शान्ति क्षेत्रको सामान्य मर्यादा समेत उल्लङ्घन गरेकोमा गुनासो गरे । अस्पतालको आपत्कालीन कक्षको ढोकासम्मै गोलीका छर्राहरू आएका थिए भने प्रहरीको त्यस्तो कदमले कयौँ चिकित्सक र स्वास्थ्यकर्मी नै घाइते भए ।
दोस्रो दिन आगलागी हुँदा अस्पतालका बिरामी र स्वास्थ्यकर्मीहरूलाई एयरमार्फत उद्धार गर्नुपर्छ कि भन्ने चुनौतीसमेत आएको थियो । त्यसका लागि पार्किङस्थललाई हेलीप्याडमा रूपान्तरण गरियो । उनले संसद् भवन र कान्तिपुर टेलिभिजनको कार्यालय जल्दा नर्भिक अस्पतालको सेवा नै यता सार्नुपर्छ कि भन्ने तयारीमा पनि जुट्नुपरेको स्मरण गरे ।
गम्भीर प्रकृतिका बिरामीको चाप
यसपटक जेनजी आन्दोलनको क्रममा गम्भीर प्रकृतिका बिरामीहरू धेरै आए । डा. रेग्मीले दिएको जानकारी अनुसार दुई दिन गरेर जम्मा चार सय २० जना घाइतेहरूले सेवा लिए, जसमध्ये धेरै जना सामान्य उपचारपछि फर्किए ।
गम्भीर प्रकृतिका बिरामीमध्ये ५१ जनाको सर्जरी (धेरैजसो गोली झिक्नुपर्ने) गरियो भने ४४ जना अन्यत्र रेफर भएका थिए । यस क्रममा ६ जनाको मृत्यु भयो भने राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएकाहरू पनि प्रायजसो यहीँबाट रेफर भएकाहरू थिए । अहिले पनि आन्दोलनका दुई जना घाइतेहरू अस्पतालमा उपचाररत छन् ।
आपत्कालीन व्यवस्थापनका लागि दीर्घकालीन आवश्यकता
डा. रेग्मीले नेपालमा सङ्कट पर्दा सम्झने र नत्र बिर्सिहाल्ने बानीका कारण विपद् अस्पतालको आवश्यकतामा ध्यान नदिइएको बताए । अस्पताल हुँदा पनि सडक नै कब्जा भएर एम्बुलेन्स जलाइएका र तोडफोड गरिएकाले सेवा प्रदान गर्न नसक्नु दुखद अवस्था हो ।
आपत्कालीन अवस्था र विपद् व्यवस्थापनका लागि हेलिप्याड सहितको छुट्टै अस्पताल र अन्य अस्पतालसँग छिटो सहकार्य र समन्वय गर्न बलियो सञ्जाल बनाउन आवश्यक रहेको उनले सुझाव दिए ।
अर्थमन्त्री अस्पतालको भिजिटमा आउँदा पनि उनले नयाँ बन्ने संरचनाको माथि हेलिप्याड बनाउनुपर्ने र वरपरको क्षेत्र बढाउनुपर्ने माग राखेका थिए । एकैचोटी धेरै बिरामी आउँदा रेफर गरेर अर्को अस्पतालमा पुर्याउन सकिएको भए धेरै जीवन बचाउन सकिन्थ्यो भन्ने अनुभव उनले सुनाए ।
आन्दोलनको केन्द्र सार्न सुझाव
डा. रेग्मीले विगत ६ महिनामा भएका तीन आन्दोलन (शिक्षक आन्दोलन, राजावादीको आन्दोलन र जेनजी आन्दोलन) पछि आन्दोलनका केन्द्र माइतीघर र बानेश्वर क्षेत्रमा नभई अन्यत्र नै सार्न पाए हुन्थ्यो भन्ने महसुस गरेका छन् । अस्पताल, संसद् भवन जस्ता महत्त्वपूर्ण संरचनाहरूबिच दूरी कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सङ्घीय संसद् भवनलाई समेत स्थानान्तरण गर्नुपर्ने सुझाव दिए । साथै, एम्बुलेन्सलाई जस्तो अवस्थामा पनि काम गर्न दिनुपर्ने र अस्पतालसँगको सम्पर्क कुनै पनि हालतमा रोकिनुहुँदैन भन्ने कुरामा उनले जोड दिए ।