• फाल्गुन २३ २०८२, शनिबार

धन धान्यकी देवी लक्ष्मीको पूजा विधि :

कार्तिक ३ २०८२, सोमबार

१. कार्तिक कृष्णपक्षको औंशी तिथि कार्तिक ३ गते सोमबार १४:५८ बजे देखि कार्तिक ४ गते मंगलवार १६:२८ बजेसम्म रहेकोले लक्ष्मी पूजा (दिपावली) कार्तिक ३ गते सोमबार साँझमा नै गर्नुपर्दछ।

२. यस दिन बिहान कुकुर तिहार तथा नरक चतुर्दशी परेकोले बिहान शरीरमा तेल घसेर स्नान गरी शुद्ध वस्त्र धारण गरी सूर्यलाई अर्घ्य दिई नियमित पूजा गर्नुपर्छ।

३. यस दिन बिहान घरमा कुकुर भए पूजा गर्ने, खुवाउने नभए सडकमा भएका कुकुरहरुलाई खानेकुरा खान दिन सकिन्छ।

४. दिउँसो १४:५८ बजे देखि औंशी तिथि सुरुवात हुने 40 भएतापनि वृषभ कालमा लक्ष्मी पूजा गर्नु अत्यन्त शुभमानिन्छ। यस दिन साँझ वृषभ काल ६:५२ बजे देखि ८:४७ बजे सम्म रहेको छ ।

५. यस दिन सकेसम्म व्रत लिने, नसके सात्विक भोजन र भएपांने लक्ष्मी पूजा गर्नुपर्छ।

६. साँझमा लक्ष्मी पूजा गर्नु अघि घरमा रातो माटो र गोबरले लिपेर चोखो बनाई रङ्गोली तयार गर्नुपर्छ । साँझको समयमा शुद्ध वस्त्र धारण गरी, १६ श्रृ‌ङ्गार गरी लक्ष्मी माताको पूजा गर्न तयार हुनुपर्छ।

७. पूजा स्थानमा आएर जौ तिल, कुश, जल को तिलानी पानी तयार गरी आफ्नो शरीरमा सेचन गरी लक्ष्मी पूजा सामग्री सबैतिर छर्केर शुद्ध बनाउने ।

८. त्यसपछि दियो, गणेश, कलशको स्थापना गरी दियो बाली फूल राखिदिने, सकेसम्म अखण्ड दियो बाल्ने र पूजा सुरु गर्नु प्रायश्चित गोदान गर्ने, दाहिने हातमा फूल, अक्षता, दक्षिणा राखी आफ्नो, नाम ठेगाना गोत्र सबै भनेर आज महालक्ष्मीको प्रसन्नताको लागि यो पूजा गर्न गईरहेको छु, यहि पुण्य प्राप्तिका लागि म गोदान गरिरहेको छु भनेर सङ्कल्प गरी भगवान गणेशको छेउमा छोडिदिने। पछि त्यो दक्षिणा भान्जा भान्जी वा ब्राह्मणलाई दिनु पर्छ।

९. त्यसपछि दियो को पूजा गर्ने, भगवान गणेशको पूजा गर्ने, कलशमा आँप, वरपिपलको पात राखी नरिवललाई मौली धागोले बेरेर कलश माथि राखिदिने, कलशमा स्वस्तिक र ॐ को चिन्ह बनाई सारा देवी देवता आई बास गरिदिनुहोला है भन्दै पूजा गर्ने।

१०. अर्घ्य तयार गरी थोरै अर्घ्य भगवान गणेशलाई अर्पण गर्नुपर्दछ । दियो, गणेश, कलशको ठीक पछाडि बीचमा अक्षताको अष्टदल तयार गरी त्यसमाथि टपरीमा धान राख्ने, त्यसमाथि अर्को टपरी राखी चामल राख्ने, त्यसमाथि मुल कलश राखी, मुल कलश लाई सजाउने, कलशमा पञ्चपल्लव वा आँप वरपिपलको पात, बेसा सप्तमृतिका, सर्वोषधि, पञ्चरत्न, जौ तिल, कुश, सिक्का पैसा सबै राखी माथिबाट तामा वा चाँदीको थाली राखी थालि माथि महालक्ष्मीको प्रतिमा राख्नुपर्छ।

११. हातमा फूल लिई महालक्ष्मीलाई हे माता आज सुखरात्रिको दिन हजुर भगवान श्री विष्णुको साथमा आई यस स्थानमा आई विराजमान हुनुहोस्, म आज हाम्रो परिवार को सुख समृद्धिका लागि हजुरको पूजा गर्न गईरहेको छु भनी आव्हान गरी ढोका बाहिर जाने, उत्तर तर्फ मुख गरी महालक्ष्मीलाई बोलाएर, पहिले बनाएका रङ्गोलीमा पूजा गरी लक्ष्मीका पाईला बनाउदै पूजा गर्दै, दीप बाल्दै लक्ष्मी मातालाई प्रकाश देखाउदै भित्र ल्याउने ।

१२. त्यसपछि मातालाई उक्त आव्हान गरेको थालीमा विराजमान हुनुभएको भावले सम्झी कुशको आशन दिई दुध, दही, घ्यू, चिनी, मह ले पालैपालो स्नान गराउदै गंगाजलले क्रमश शुद्ध गराउदै जाने । स्नान पश्चात् थालीको जल अर्को पात्रमा सारेर खाली पारी थालीमा श्री लेखी मातालाई कुनै शुद्ध कपडाले पुछेर वस्त्र लगाईदिने, सोह्र श्रृङ्गारका सामान पहिराउने, टिका चन्दन, फूल, फल अर्पण गर्ने, ॐ महालक्ष्म्यै नमः मन्त्र उच्चारण गर्दै जाने ।

१३. धनत्रयोदशीका दिन किनेका सामग्रीहरू नि नजिकै राखी पूजा गर्ने, धनियाँका दाना भिजाएर अलिकति माताको चरणमा अर्पण गर्ने, बाकी भोलिपल्ट बारीमा छरिदिने, साथमा भगवान कुबेरको प्रतिमामा पनि पूजा गर्ने । कुबेर भगवानको लागि छु‌ट्टै दियो उत्तर मुख गरी बालिदिने।

१४. सबै चिज अर्पण गरेपछि अन्त्यमा माताको चरणमा अर्घ्य प्रदान गर्ने, विभिन्न किसिमका माला, कमलगट्टाको माला अर्पण गरिदिने, कमलको फूल अर्पण गरिदिने, भगवान नारायणलाई पनि सम्झेर पूजा गर्ने, माताको आठ स्वरूप अष्टलक्ष्मी सम्झेर पूजा गर्ने ।

१५. यस दिन चन्द्रमा, ईन्द्र र गज महाराज (हात्ती, माताको बाहन) लाई पनि सम्झेर नजिकै पूजा गर्ने।

१६. धुप बाली आरती गर्ने, १६ सुते बाती १६ वटा राखि आरती गर्ने, पकाएका पकवान, तथा फलफुल प्रसाद अर्पण गर्ने, ३ पटक ताली बजाई प्रसाद ग्रहणको लागि आग्रह गर्ने, प्रसाद अर्पण गरेको २० मिनेट सम्म लक्ष्मी माताको नामको माला जाप गर्न, त्यसपश्चात् हातमुख ठाएर कपूर आरती गर्ने ।

१७. घरमा भएका गरगहना माता लक्ष्मीको अगाडि एकछिन राखेर टिका चन्दन धुप दिप गर्ने ।

१८. भूलचुक माफ गर्नुहोला भनी दक्षिणा अर्पण गर्ने ।

१८. कन्या, सौभाग्यवती नारी लाई टिका लगाएर दक्षिणा दिने, भैली देउसी समूहलाई टिका लगाएर दक्षिणा दिने, अशक्त असमर्थलाई सकेको सहयोग गर्ने गर्नुपर्दछ।

२०. व्रत बसेकाले दुध फलफूल ग्रहण गरी भोलिपल्ट मात्र अन्न ग्रहण गर्नुपर्दछ। अशक्त जनले सात्विक भोजन गर्न सक्नुहुनेछ ।

२१. यस दिन पनि लक्ष्मी पूजा पश्चात् रातको ११ बजे भित्र यमदीपदान गर्नुपर्दछ।