• फाल्गुन २५ २०८२, सोमबार

एमाले बैठकमा उठ्यो नेताको सम्पत्ति छानबिनको माग

आश्विन ३० २०८२, बिहीबार

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । हालसम्म धारणा राख्ने बहुमत केन्द्रीय सदस्यले पार्टीले जनताका समस्याको सम्बोधन गर्न ढिलाइ गर्न नहुने, जेनजी आन्दोलनपछि बदलिएको मानिसको मन बुझ्न सक्नु पर्ने र नेतृत्व परिवर्तनको मुद्दा अहिले नभएर महाधिवेशनमा उठाउनुपर्ने बताएका छन् ।

बैठकमा आफ्ना धारणा राख्दै केन्द्रीय सदस्य मोहम्मद हरुले जेनजी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास गलत भएको बताएका छन् । एमालेका सङ्गठन देशदेखि टोलसम्म भएकोले यो पार्टी कमजोर हुन नसक्ने उनको भनाइ छ ।

‘देशमा एमाले, प्रदेशमा एमाले, जिल्लामा एमाले, पालिकामा एमाले, टोलमा एमाले छ’ उनले बैठकमा भने– ‘तर कसरी एमाले कमजोर छ भन्ने भाष्य खडा गरिँदैछ । यो गलत भाष्यलाई चिर्न सबै पार्टी पंक्ति परिचालित हुनुपर्दछ ।’

हरुले अहिले नेतृत्व परिवर्तनको बहस गर्न नहुने भन्दै केपी ओलीको नेतृत्व देशलाई अझै आवश्यक रहेको बताए । अर्की केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ साल यताका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरिन् ।

उनले पार्टीले अलग्गै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने हो भने जेनजी माग पनि सम्बोधन हुने र पार्टीमा समेत शुद्धीकरण हुने भनाइ राखिन् । ‘मेरो माग छ यसै बैठकबाट त्यस्तो आयोग बनाऔँ, जसले नेताको सम्पत्ति छानबिन गरेर सार्वजनिक गरोस्‌’ काफ्लेको भनाइ छ ।

केन्द्रीय सदस्य रमेश बडालले मङ्सिरमा महाधिवेशन प्रस्ताव गरे पनि मुलुकको राजनीतिक परिस्थितिले चैतभन्दा यता हुनसक्ने सम्भावना आफूले नदेखेको बताए ।

उनले विद्यालयलाई शान्ति क्षेत्र बनाउने र विद्यार्थीलाई राजनीतिबाट अलग्गै राख्दा ठुलो राजनीतिक रिक्तता देखिएको बडालको भनाइ छ । ‘विद्यालयमा राजनीति नगर्ने नाममा भएको रिक्तताको फाइदा अरूले उठाए’ बडालले भने– ‘त्यसैले विद्यार्थीहरू मूलधारको राजनीतिबाट टाढिए । यसमा पार्टीले पुनर्विचार गर्नुपर्दछ ।’

केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्व परिवर्तन अहिले बेमौसमको बाजा भएको बताइन् । केन्द्रीय सदस्य महम्मद समिरले केपी ओलीको विकल्प खोज्ने कुरा अहिलेको आवश्यकता नभएको बताए । उनले केपी ओलीले सामना गरेका कठिनाइ वा विरोधले न उनी ढलेका छन् न उनका सपना र धारणा फेरबदल भएका छन् भन्दै उर्दु भाषामा भने– ‘ना केपी ओली गिरे, ना केपी ओली के उमिदो मिनार गिरे ।’

केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीको आन्तरिक एकता मजबुद बनाउनु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । अर्का केन्द्रीय सदस्य महेश बर्तौलाले संसद् पुनर्स्थापना र राष्ट्रिय सरकार गठनमा जोड दिएका छन् ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो दिनको खाना ब्रेक अघिसम्म ६७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । कम्तीमा १०० जना केन्द्रीय सदस्यले धारणा राख्ने कार्यसूची रहेको छ । हिजोदेखि सुरु भएको बैठक भोलि समापन गर्ने तयारी छ ।