• फाल्गुन २५ २०८२, सोमबार

जनार्दन शर्माले पार्टी छाडेर गए पनि कुनै असर पर्दैन : अध्यक्ष विमला केसी

आश्विन २८ २०८२, मंगलवार

काठमाडाैं। माओवादी केन्द्रकाे कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जनार्दन शर्माले पार्टी छाडेर गए पनि कुनै असर नपर्ने बताएकी छन् ।

मंगलबार (असोज २८ गते) वीरेन्द्रनगर सुर्खेतमा पत्रकारहरूसँग अध्यक्ष केसीले शर्माले पार्टीभित्र पछिल्लो समय उठाएको विषयवस्तु गलत भएको स्पष्ट पारिन् ।

“यो माओवादी आन्दोलनमा उहाँको पनि योगदान छ । हामीले उहाँलाई गलत गर्नबाट रोक्नुपर्छ । हिजो बाबुराम, मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतका नेताहरूले यो पार्टी छोडेर जानु भएको थियो तर उहाँहरूले पार्टी फुटाएर जानुको कारणबारे अहिलेसम्म स्पष्ट पार्न सक्नु भएको छैन,” अध्यक्ष केसीले भनिन्, “यस्तो अवस्थामा जनार्दनले पार्टी फुटाउने तिरभन्दा एकता गर्नतिर लाग्नुपर्छ ।”

शर्मा पार्टीको नीतिविरुद्ध लाग्नु गलत भएको भन्दै अध्यक्ष केसीले अध्यक्ष प्रचण्डविरुद्ध व्यक्तिगत तरिकाले यसरी लाग्नु नै जनार्दनको  ठूलो कमजोरी भएको स्पष्ट पारिन् ।

“पछिल्लो समय पार्टीभित्र जनार्दन शर्मालाई सहयोग गर्ने साथीहरूसमेत व्याक भइसक्नु भएको छ,” उनले भनिन्, “रुकुम पश्चिममा त झन उहाँलाई सहयोग गर्नेहरूले दिन प्रतिदिन साथ छोड्दै गएका छन् ।”

अहिलेको आवश्यकता भनेको माओवादी पार्टी एकता गर्नुपर्ने भन्दै उनले पार्टी फुटाएर, पार्टीभित्र गुट निर्माण गरेर कसैलाई पनि फाइदा नहुने स्पष्ट पारिन् ।

पार्टी फुटाएर कसैलाई पनि फाइदा छैन, यदि जनार्दनले पार्टी छोडेर गए पनि उहाँ र गुटको पछि कोही हामी लाग्दैनौँ,” अध्यक्ष केसीले भनिन्, “दुनियाँ गएर त केही भएन जनार्दन गए पनि केही फरक पर्दैन ।”

उनले अहिले यो अवस्थामा माओवादी पार्टी एक भएर जाने हो भने सबैभन्दा ठूलो पार्टी बन्ने बताइन् । अब नेता कार्यकर्ताहरूले पार्टी बनाउने र जनताको सुरक्षा गर्न तिर लाग्नु पर्ने बताइन् ।