• फाल्गुन २३ २०८२, शनिबार

राष्ट्रिय एकताको बाटो रोजौं

आश्विन २५ २०८२, शनिबार

देश निकै अप्ठेरो अवस्थामा छ । यो अप्ठेरोबाट निकास खोजिरहेको छ देशले । यस्तो निकास अग्रगामी राजनीतिक निकास नै हो । अहिलेको समस्या निम्तिएको पनि तात्कालीन सत्तासिन राजनीतिक दलको अपरिपक्वता र भ्रष्ट आचरणको कारणले नै हो ।

कुनै पनि घटना वा कार्य त्यत्तिकै निम्तिदैन । यसका पछाडि प्रमुख र सहायक कारणहरू हुन्छन् । कार्य र कारणको सम्बन्धलाई बिर्सनु हुँदैन । कारण त्यो हो, जसले कुनै पनि कार्य हुन वा गराइनका लागि आधार खडा गरिरहेको हुन्छ । यसैका आधारमा टेकेर आन्तरिक तथा बाह्य शक्तिको आआफ्नो स्वार्थ अनुसार चलखेल हुन पुग्छ । त्यसपछि घटना घटित हुन्छ ।

जेनजी आन्दोलन अहिले देशमा ठूलै राजनीतिक घटना निम्त्याएर आइपुगेको छ । राजनीतिक आँखाबाट नियाल्दा यो नेपाली राजनीतिक परिवर्तनको एक परिघटना बनिसकेको छ । संसद बिघटन भइसकेको छ र अन्तरिम सरकारले काम गरिरहेको छ । वर्तमान संविधानले अबको निकासको बाटो खोज्न सहजीकरण गरिरहेको छ कि छैन भन्ने बहस सुरू भइसकेको पनि देखिन्छ ।

उता शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री हुने वा बहुमतप्राप्त दलबाटै हुने व्यवस्था कायम राख्ने भन्ने विवाद र बहस पनि चुलिएको छ । संसद बिघटन भइसकेकाले सार्वभौमसत्ता कहाँ छ ? भनी खोजी पनि भइरहेको छ । अन्तरिम सरकारले फागुन २१ गते संसदीय निर्वाचन गराउने घोषणा गरिसकेकाले सार्वभौमसत्ता नेपाली जनतामा छ भन्ने कुरामा आशङ्का गरिरहनु पर्दैन ।

तर निर्वाचनको वातावरण बनाउने भन्दा पनि धुमिल गराउँदै लैजाने होड चल्न थालिसकेको छ । यति बेला छानबिन आयोगलाई प्रभावित गराइरहनु जरूरी छैन । दावा र प्रतिदावा, थप आन्दोलन र बदला अनि देखेस् र पखेस्‌का कुरा देश र जनताका हितमा छैनन् ।

अहिलेको अवस्था निम्त्याउने देशीय शक्ति र त्यहाँ खेल्न खोज्ने अन्तर्राष्ट्रिय शक्तिलाई नेपाली जनताले राम्रैसँग बुझिसकेका छन् । त्यस कारण कसैले पनि फूर्ति देखाउने र लोकलाज छोप्नखोज्ने कुचेष्टा नगर्दा सबैको हितमा हुने कुरा निर्विवाद छ । नेपाली जनता देशीय शक्तिका नाममा गरिने कुनै पनि तमासा हेर्न अबका दिनमा इच्छुक छैनन् । साथै, कुनै पनि अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अधीनमा बस्न तयार छैनन् । सत्ता नेपाली जनताको हो । उनीहरूलाई निर्माण गर्न दिनुपर्छ ।
नेपाली जनता जति कमजोर हुुन्छन्, विदेशी शक्ति त्यति नै खेल्न थाल्छन् । त्यसैले जनता कमजोर बनाउने र आफू शक्तिशाली भएको देखाउन कसैले बेला न कुबेला गरिरहने बेढङ्गको नाटक मञ्चन आफैमा खेदजनक हास्यास्पद दुबै छ । त्यसैले आजका दिनमा अग्रगामी राजनीतिक निकासका लागि एकसूत्रीय राष्ट्रिय एकता जरूरी छ । त्यो भनेको घोषित निर्वाचनमा भाग लिई जनताले दिने नयाँ जनादेश प्राप्त गरी देशलाई अघि बढाउनु हो ।