काठमाडौँ । काठमाडौँमा कुनै पनि –याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न समूहहरुबाट हुने भनिएका –याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि –याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक सूचना प्रकाशित गर्दै पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउन सबैमा आग्रह समेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचनाः
मिति २०८२/०६/२५ गते शनिवारका दिन फरक फरक समूहहरुले काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा मोटरसाईकल –याली तथा सभा गर्ने भनी सूचना प्राप्त हुन आएको छ । गत भाद्र २३ गतेको Gen Z आन्दोलन पछिका दिनमा भएको तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिहरुमा भएको क्षति समेतका घटनाहरु हुन पुगेको यहाँहरु सबैलाई विदितै छ ।
शान्ति सुरक्षाको स्थिति बनाईराख, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु शुरु भएका छन् । यसै सिलसिलामा विभिन्न समूहहरुबाट हुने भनिएका –याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएको हुँदा यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि –याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ ।
अतः पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम यो सूचना सम्वद्ध सबैलाई जानकारीका लागि प्रेषित गरिएको छ ।