काठमाडौ । ‘सर, मेरो आँखामा डर छ ? कतै जान्नँ, गोली ठोक्नुहोस्, मेरो आँखामा एक इन्च डर छ सर ? के गर्न सक्नुहुन्छ ? गोली ठोक्ने हो ? मार्ने भए मार्नुहोस् । यो देशको बारेमा सोच्नै परेन, मेरो आत्मा भगवानले लैजानुहुन्छ ।
जिउँदो भए भने त देश चिन्ताले सताइरहन्छ मरेको भन्दा । सुत्न सक्दिनँ चैनले । म वान मेन आर्मी हो । भारतीय दलाल, अमेरिकी पुँजीवादी दलाल र देशका दलालसँग एक्लै लड्न सक्ने क्षमता छ मसँग । त्यसैले, तपाईंहरू पनि बेलैमा सोच्नुहोस् देशका लागि ।’
जेन–जी आन्दोलनका क्रममा सडकका प्रहरीसँग एक युवाले भनेका शब्दहरू हुन् यी । आन्दोलनमा सक्रिय सहभागी ती युवाले प्रहरीलाई देशका लागि सोच्न आग्रह गर्दै निकै चर्किरहेको भिडियो भाइरल छ । त्यसरी बोल्ने युवाको नाम हो, यमबहादुर कँडेल ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका– १०, थापाकठेरीका हुन् कँडेल । ३० वर्षीय यी युवा त्यतिबेला आन्दोलनको अग्रपंक्तिमा देखिएका कारण भाइरल भएका हुन् । अहिले भने अर्को दोषमा चर्चामा आएका छन् ।
जेन–जी आन्दोलनमा सुरक्षाकर्मीलाई देशको चिन्ताले चैनले सुत्न नसकेको दाबी गरेका युवा अहिले भने आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छन् । कँडेलले आइतबार राति साढे १० बजे आफ्नी ५५ वर्षीया आमा रामामाया कँडेलको हत्या गरेको प्रहरीको भनाइ छ ।
राममायाको हत्या भएको थाहा पाएलगत्तै छिमेकीले प्रहरीलाई खबर गरेका थिए । कँडेलले आफ्नी आमालाई धारिलो हतियार प्रयोग गरी दुई टुक्रा बनाएको छिमेकीहरूले जानकारी दिएका छन् ।
छिमेकीको खबरपछि कँडेलको घर पुगेको प्रहरीले उनलाई पक्राउ गरेको थियो र जिल्ला प्रहरी कार्यालय धादिङमा राखेको छ । राममायाको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङमा राखिएको छ ।
जेन–जी आन्दोलनको क्रममा निकै हक्की र निडर देखिएका यमबहादुर खासमा विगतमा पनि प्रहरीको रेकर्डमा खराब चरित्रका व्यक्ति थिए । अर्थात् यसअघि नै कँडेलविरुद्ध चारवटा मुद्दा थिए प्रहरीसमक्ष ।
लागुऔषध तथा मादकपदार्थ समेत सेवन गर्ने यमबहादुरलाई यसअघि पनि ज्यान मार्ने अभियोगको दुईवटा मुद्दा लागेका थिए । अभद्र व्यवहार, ज्यान मार्ने कसुर, लागुऔषध मुद्दालगायतमा उनले पटक–पटक जेल सजाय भोगेको बताइन्छ ।