• फाल्गुन २३ २०८२, शनिबार

दार्जिलिङमा २७ वर्षपछि भीषण वर्षा : पहिरोमा परेर मर्नेको सङ्ख्या २४ पुग्यो

आश्विन २० २०८२, सोमबार

नयाँ दिल्ली । पश्चिम बंगालको दार्जिलिङमा आइतबारको भारी वर्षापछि आएको पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । मृत्यु हुनेमा सात जना बालबालिका भएको बताइएको छ ।

अझै पनि कयौँ मानिस बेपत्ता छन् । पहिरोले धेरै घरहरू बगाएको छ । दार्जिलिङ र सिक्किमबिचको सडक सम्पर्क देशको बाँकी हिस्साबाट काटिएको छ । बाढी र पहिरोका कारण हजारौँ पर्यटक अलपत्र परेका छन् ।

दार्जिलिङ र कुर्सियोङ बिचको राष्ट्रिय राजमार्ग पनि विच्छेद भएको छ । मिरिक र दुधिया नजिकै फलामको पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग अवरुद्ध भएको छ ।

अलिपुरद्वारमा रेलवे ट्र्याक डुबानमा पर्दा तीन वटा रेल रद्द गरिएको छ । दार्जिलिङ र कालिम्पोङमा चिया बगानहरू डुबानमा परेका छन् । दार्जिलिङ र बङ्गालका अन्य जिल्लाहरूमा २४ घण्टामा लगभग १६ इन्च वर्षा भएको छ ।

स्थानीयहरूका अनुसार १९९८ पछि दार्जिलिङ यस्तो मुसलधारे वर्षा भएको यो पहिलो पटक हो । मङ्गलवार बिहानसम्म दार्जिलिङ, कालिम्पोङ, जलपाइगुडी र कुचबिहारमा भारी वर्षा हुने अनुमान गरिएको छ । जसले गर्दा पहिरोको खतरा कायमै रहेको बताइएको छ ।