काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य जारी गर्दै राहदानी रोक्का गर्ने र आफ्नै मुलुकभित्र पनि आवतजावतमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई राजनीतिक प्रतिशोधपूर्ण भनेका छन् ।
उनले अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सचेत गराएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठन भएको जाँचबुझ आयोगको सिफारिसअनुसार सरकारले निवर्तमान प्रधानमन्त्री ओली, निवर्तमान गृहमन्त्री लेखक, गृह मन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका पूर्वप्रमुख छवि रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।