खुशी र उमंगको चाड बडादशैं । आफू भन्दा ठुलाको हातको टीका र आशिर्वाद लिने,रमाइलो गर्ने, खाने पिउने गर्ने गरिन्छ । रमाइलो गर्ने क्रममा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौँ । चाडपर्वमा खानपानमा विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविद्हरू बताउँछन् ।
दशैंमा विशेष रूपमा मासुको परिकार खाइन्छ । अधिकांशको भान्छामा मासुको परिकार पाक्छ । मसला कम हालेको मासु खानुपर्छ । मासुमा चिल्लो धेरै हुने भएकाले थोरै मात्रामा खानुपर्छ । मासुसँगै हरियो तरकारी खानुपर्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।
नपकाएको मासु फ्रिजमा राख्ने अनि आवश्यक मात्रामा पकाएर खानुपर्छ । पकाएको बासी मासुको प्रयोग गर्नु हुँदैन ।
मासु र मदिरा एकै पटक सेवन नगर्ने । थोरै मदिरा सेवन गर्दा फाइदा हुन्छ भन्ने यो सत्य होइन । यो विष नै हो । यसले कलेजो बिगार्छ । मोटोपन भएकाले कम मात्रामा मासु खानुपर्छ । पातलो शरीर भएकाले अपच हुनेगरी खानु हुँदैन । त्यसैले सावधानी अपनाएर खानुपर्छ ।
दसैँमा बालबालिकाले जंक फुड र कोल्ड ड्रिङ्क्सको धेरै प्रयोग गर्ने गरेका छन् । बुबाआमाले बालबालिकाको विशेष ध्यान दिनुपर्छ । बालबालिकामा पेट दुख्ने बान्ता आउने समस्या हुन्छ । त्यसैले दशैंमा खाइने परिकारमा विशेष ध्यान दिनुपर्दछ ।