• फाल्गुन २४ २०८२, आईतवार

यस वर्ष दसैंका लागि भेडाच्याङग्राको मूल्य सस्तियाे

आश्विन १३ २०८२, सोमबार

काठमाडौं । दसैं पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ। व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैयाँ ५० देखि रुपैयाँ १०० सम्म घटेको हो। बेनीका भरत रकालले गत वर्ष ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली रु. ३५ हजारमै पाइएको बताए।

‘तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा ५२ हजार र च्यालु (हिमाली भेडा)को मूल्य ४०÷४२ हजार थियो,’ उनले भने, ‘मूल्य सस्तीएपछि लेकाली भेडाच्याङग्राको मासुका परिकार खाएर दशै मनाउने मध्यम वर्गका उपभोत्ताको रहर पुरा गर्न सहज भएको छ।’

नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु, मुस्ताङमा च्याङग्रापालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए।

श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट दुई हजार पाँच सय च्याङग्रा काठमाडौ पुर्‍याएका छन्। गत वर्ष काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलो एक हजार तीन सयका दरले बिक्री गरेकोमा यसपाली एक हजार दुई सय ५० का दरले बिक्री गरेको श्रेष्ठले बताए।

दसैंका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौ, चितवन र बुटवलका बजारमा झारिएका भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो। तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपाली मुस्ताङबाट मात्र भेडाच्याङग्रा मात्र झरेका छन्।

पोषिलो, स्वास्थ्यवर्द्धक, शक्तिवर्द्धक, स्वादीलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताए।