• फाल्गुन २८ २०८२, बिहीबार

२० घन्टादेखि जाममा फसेका यात्रुलाई प्रहरीले बाँडे खाजापानी

आश्विन ५ २०८२, आईतवार

काठमाडौं । नारायणघाट–मुग्लिन सडक खण्डमा शुक्रबार साँझदेखि लगातार गइरहेको पहिरोले यात्रुहरू घन्टौं घन्टा जाममा बस्न बाध्य भएका छन् । त्यहाँको पहिरोले पृथ्वी राजमार्गका यात्रुसमेत जाममा फसेका छन् ।

काठमाडौंका सुरेश गजुरेललाई नागढुंगाबाट मुग्लिन पुग्न झन्डै २० घन्टा लाग्यो । गल्छीबाटै जाममा पर्न थालेका उनी २० घन्टापछि मुग्लिन कटेर आँबुखैरेनीतिर लागेका हुन् ।

‘तुइन खोलामा पहिरो झरेर चितवनबाट गाडी आएका छैनन् भन्ने त सुनेको थिएँ । तर त्यसको असर पृथ्वी राजमार्गमा पनि परेको भन्ने मलाई हेक्का भएन, झन्डै २० घन्टा जाममा बस्नुपर्‍यो,’ पर्यटक पथ प्रदर्शक रहेका उनले भने ।

उनका अनुसार कैयन् यात्रु अहिले पनि बाटैमा अलपत्र छन् । गाडीमै बास बसेका कतिपय यात्रुले खाना खान पाएका छैनन् । पिउने पानीकै पनि समस्या छ । यसबीच चितवनको जिल्ला सुरक्षा समिति र स्थानीय व्यवसायी अहिले अलपत्र यात्रुलाई खाजा र पानी वितरणमा जुटेका छन् ।

चितवनको तुइन खोलानजिकै शुक्रबार साँझदेखि नै पहिरो खस्न सुरू भएको थियो । शुक्रबार राति र शनिबार दिनभरि पहिरो पन्छाउन प्रयत्न गरिएको थियो ।

यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार तलबाट पन्छाउँदै जाने र माथिबाट पुनः पहिरो खस्ने क्रम नरोकिएपछि शनिबार दिनभरिको प्रयासले सार्थकता पाउन सकेन । रात परेपछि पहिरो पन्छाउने क्रम रोकिएको थियो ।

आइतबार बिहानैबाट तीनवटा उपकरण प्रयोग गरी दुवैतिरबाट पहिरो पन्छाइएको थियो । सडक डिभिजन भरतपुरका इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार अहिले करिब ५०–६० मिटरजति सडकको भागमा थुप्रिएको पहिरो पन्छाउन बाँकी छ । तर अहिले पनि पहिरो खस्ने क्रम चलिरहेको छ ।

पहिरो खस्ने क्रम रोकिने हो भने चार–पाँच घन्टामा खुलाउन सकिन्छ । तर पहिरोको प्रकृति हेर्दा थामिने अवस्था देखिँदैन ।

‘पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था छ तर पनि हामी आज दिउँसोसम्म एकतर्फी भए पनि सडक आवागमन सञ्चालनमा ल्याउनको लागि प्रयासरत छौं,’ सडक डिभिजन भरतपुरले भनेको छ ।

सडक डिभिजनका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।

करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको थियो भने १० मिटर चौडाइ र १६ मिटर उचाइ थियो।