प्रिय भाटभटेनी……..
जनमानसको भवसागर सँगै
अखण्ड परिवर्तनको नारा सँगै
देशमा अराजकताले जन्म लिए पछि
शत्रु जन्मिएछ त्यहि भवसागरको कोखबाटै
इतिहास जल्यो, शासन फुट्यो हाम्रो सबै
न्याय तोडियो देशै भरिको कारागार सँगै
प्रतिक, शान र तिम्रो स्वाभिमान माथि पनि
खै..ǃ कुन दैत्यको नजर पर्यो कठै
आज तिमी जलेर तिमीले शत्रुलाई शितलता दियौ
तिमी फुटिदिएर तिमीले शत्रुलाई शान्ति दियौ
तिमी लुट्टिएर तिमीले शत्रुको प्यास मेटायौ…
आज भग्नावशेष मात्र छौ तर तिमीले सबैको मन जित्यौ
प्रिय भाटभटेनी…आज केवल तिमी मात्र जलेनौ
तिमी सँगै ती हजारौ—हजारका रोजगारी जल्यो
तिमी जली रह्यौ त्यहि हजारौका चूलाहरु निभिरह्यो
तिमी रापमा सेकिनु पर्दा धेरैको जिन्दगी नै सेलाई गयो
आज केवल तिमी मात्र फुटेनौ
तिमी सँगै ती हजारौ—हजारका सपना फुट्यो
आज केवल तिमी मात्र लुट्टिएनौ
ती हजारौ—हजारका जिन्दगी नै लुट्टियो
प्रिय भाटभटेनी… आज तिमी मात्र धूवाको मुस्लो भित्र रुमलिएनौ
स्वदेशमा नै रोजगारी गर्न चाहाने
ति हजारौ युवाहरुको काँचो सपना नै रुमलियो
आज केवल तिमी मात्रै ढलेनौ
समाजकै प्रतिक, आशाहरु पनि जिउदै ढल्यो
आज केवल तिमी मात्रै रितिएनौ
समाजकै अमूल्य शान पनि तिमी सँगै रितियो
प्रिय भाटभटेनी….तिमीले फेरि पनि उठ्नुछ
त्यहि सपना, आशा र दृढता सँगै
समाजलाई बाटो देखाउनुछ
त्यहि ठाउँमा जाग फेरि शत्रुलाई जितेर देखाउनुछ
तिमीले टेकेको धर्तीमा अब दैत्यहरु डराउनु पर्छ
यति बिशाल रुप लिएर फेरि तिमी यहाँ जन्मिनु पर्छ
हिम्मत र जोश सँग तिमी यहाँ उभिनु पर्छ
देशको स्वभिमान र शान बनि तिमी यहाँ बाच्नु पर्छ
–एड्रिनो दिनु थापा