नेपालमा हरेक १० वर्षको अन्तरालमा केही न केही हेरफेर हुने गर्छ । त्यो हेरफेर मूलतः राजनीतिक हुन्छ । सामाजिक, आर्थिक, सांस्कृतिक तथा अन्य पक्षमा भने नेपालको आफ्नै गति छ । यो गति निकै धिमा र अत्यासलाग्दो छ । सिंगो समाज परिवर्तन र सिंगो राज्यसत्ताको परिवर्तनमा सधैंभरि विरोधाभाष खडा भइरहने भनेकै राजनीतिक परिवर्तन अनुसार अन्यपक्षको परिवर्तन नहुनु हो ।
एक हप्ता अघिमात्र जेन्जी (नयाँ पुस्ता) ले गरेको आन्दोलनले देशव्यापी आशा र त्रास दुबै निम्त्यायो । आन्दोलनमा हुने भय र त्रासले पुरानो पुस्ताको सातो लियो । नयाँ पुस्ताको सोचमा आशाको सञ्चार गर्यो । सिङ्गो देशका विभिन्न पक्षमा हुनुपर्ने परिवर्तनमा अवरोध पुर्याउने व्यक्ति र स्थान विशेषमाथि हमला भयो ।
देशमा परिवर्तनका लागि नयाँ अध्याय आह्वान गर्ने आवाज अनुमोदन गरायो । यसको तत्काल राजनीतिक परिवर्तनमा नै असर देखा पर्यो । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार गठन भयो । शान्ति स्थापनाका लागि सुरक्षाको जिम्मा देशको सेनाको हातमा गयो । देशमा सापेक्ष शान्ति सुरक्षा पनि कायम हुनगयो ।
जेन्जी आन्दोलनका बारेमा परस्पर बाझिने र अन्तरविरोधी विचार वा मत/विमत आउनु स्वाभाविक कुरो हो । देश आफैमा विविध विचारमा आधारित बहुदलीय व्यवस्था र विचार अभिव्यक्ति स्वतन्त्रताको मियोमा चलिरहेको छ । आआफ्ना मत वा विचार अभिव्यक्त हुनु अनौठो होइन ।
तर यति बेला हामीले बुझ्नु पर्ने कुरा के हो भने पछिल्लो अवस्थामा निकै सम्वेदनशील स्वरूपमा अभिव्यक्त जेन्जी आन्दोलनले निर्दिष्ट गरेका पाठ र निर्देशन के हुन् ? यी कुरा मत भिन्नता वा विचारमा विमत हुनुका कारणले जे पायो त्यही व्याख्या र विश्लेषण गर्ने छुट भने कसैलाई छैन । नाति नातिना पुस्ता वा युवा गोलिले भुटिएका छन् । देश जलेर खरानी भएको छ । भ्रष्ट र भ्रष्टाचारमाथि धावा बोलिएको छ ।
नाति पुस्ताले बाजे पुस्तामाथि सङ्गीन हमल गरिसकेको छ । नाति जेन्जी पुस्ताको छ, बाजे बिन्जी (बर्न्ट जेनेरेशन) मा पर्न पुगेको छ । मुद्दा मानवता, पारदर्शिता, सुशासन, जनभावना, उत्तरदायित्व र सामाजिकताको उठेको छ ।
मानिसले मानिसमाथि कत्तिको समतामूलक व्यवहार गर्यो ? देश चलाउने नेतृत्वले कत्तिको पारदर्शिताका साथ काम गर्यो ? देशमा सुशासन किन कायम हुन सकेन ? जनभावना किन निराश र विद्रोहात्मक बन्यो ? देश चलाउनेहरूको उत्तरदायित्व कहाँ गयो ? सामाजिक भावना किन हरायो ? यस्ता प्रश्नैप्रश्नको धरातलले जेन्जीको आन्दोलनलाई उर्जावान बनाएर अघि बढायो ।
सत्तामा पुग्नेका लागि स्वर्ग, सत्ताहीन जनताका लागि नर्क किन भयो, उही देश र उही समाज ? असमाधेय वर्ग विभाजनको खाडल, सत्तासिनका रातारात वर्गोत्थान, जनताको रातारात चिहान ! यो कसरी हुन गयो ? आर्थिक पारदर्शिता कहाँ हरायो ? भ्रष्ट शासकका गगनचुम्वी महल रातारात कसरी ठडिए ? नेता र तिनका सन्तानको राजर्षि ठाँट, महलको बास, फाइभ स्टारको गास अनि ऐश्वर्य र सम्पन्नताको तमास !
उता जनताका छोराछोरी विदेशमा बास, दिनदिनै एयरपोर्टमा बासमा लाश, खलातिले हुलेझैं निराशा र अन्धकार भविष्यको गह्रौं सास ! हुँडारको बथानले असहाय मृग लुछेझैं शासकहरूको सत्ता र सरकारमाथि छिनाझप्टी ! यसले ‘मरता, क्या नही करता’ को अवस्थामा पुर्यायो । जनताको र विशेष गरी अन्धकार भविष्य देखेर अत्तालिएको नयाँ पुस्ताको आक्रोश जेन्जी आन्दोलन बनेर आइपुग्यो ।
यसले पुरानो (बिन्जी) पुस्तामा प्रतिशोध, प्रतिवाद, बदला र बेइज्जतको धुवाँ छरेको छ । यसबाट सतर्क हुनु पर्छ । यो धुवाँले शान्त भएको जेन्जी पुस्ताको आन्दोलनलाई फेरि उल्टै सशक्त र निर्मम बनाएर निम्त्याउन बेर छैन । त्यसैले जेन्जी आन्दोलनले निर्दिष्ट गरेका कुरालाई सबै पक्षले आत्मसात् गर्नु जरूरी छ ।
उही कुचाल, उही अगति र उही यथास्थितिका सोच र विचार लिएर अबका दिनमा पनि देश चल्न सक्छ भनेर कसैले पनि दुस्साहस नगर्नु उत्तम हुन्छ । राजनीति सेवा हो, आय आर्जनको थलो होइन । शासक अबका दिनमा पैसा आर्जन गर्ने, कोठामा थुपारेर भूमिगत अर्थ परिचालन गर्ने, देशलाई टाट पल्टाउने, समाजलाई अगति दिने, कुबाटो डोर्याउने र आजीवन लुटको स्वर्गमा राज गर्ने सपना परित्याग गरेर देश र समाजको सेवामा समर्पित हुन जरूरी छ ।