काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री बन्ने निश्चित भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को विस्तार गर्ने क्रममा मन्त्री छनौट गर्नेक्रममा अधिवक्ता अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिने भएकी हुन् ।
जेनजी समूहबाट राष्ट्रपति र नेपाली सेनासँग वार्तामा समेत सहभागी भएका अर्याल यसअघि काठमाडौँ महानगरका कानुनी सल्लहकारको भूमिकामा थिए । बालेन शाह निकट रहेका अर्यालले यसअघि रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा समेत उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।
त्यस्तै प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्री बनाउने भएकी छन् । प्रधानमन्त्री कार्कीले घिसिङलाई अन्य महत्वपूर्ण मन्त्रालय समेत दिने बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार, तीनै जना मन्त्रीहरूको शपथ सोमबार हुने तय भएको छ।प्रधानमन्त्री कार्कीले आजै पदभार ग्रहण गरेपछि मन्त्रीहरूको नाम टुंग्याउन लामो कसरत गरेकी थिइन्।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। अर्याल काठमाडौं महानगरपालिकाका पूर्व कानुनी सल्लाहकार हुन्। रामेश्वर खनाल भने पूर्व अर्थसचिव हुन्।