काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग तयारीमा जुटेको छ । जेनजी पुस्ताले गरेको आन्दोलनको बलमा अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते संसद विघटन गरी निर्वाचन घोषणा गरेका थिए ।
राष्ट्रपति पौडेलले शनिबार विज्ञप्ति जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैमा सम्हालिँदै निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका थिए । निर्वाचन घोषणासँगै आयोगले तयारी गरिरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
‘हामी निर्वाचन गराउने तयारीमा छौँ । कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छौँ । जनशक्ति पनि कमी छन् । त्यसमा ध्यान दिनुपर्नेछ । यस सम्बन्धमा छलफल गरेर दुई/तीन दिनमा एउटा निष्कर्षमा पुग्नेछौँ’, उनले भने ।
मतदाता अद्यावधि सम्बन्धमा पनि कार्यतालिका बनाएर जानुपर्ने भएकाले अहिले कुनै निष्कर्षमा नपुगेको भण्डारीले बताए ।
भ्रष्टाचार र बेथितिविरुद्ध भदौ २३ गते जेनजीले गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा ५१ जनाको ज्यान गएको थियो । निजी र सार्वजनिक सम्पत्तिमा आगजनी हुँदा अर्बौँ सम्पत्ति ध्वस्त भएको थियो । मुलुक सुरक्षा नियन्त्रण बाहिर जाने स्थिति भएपछि नेपाली सेनाको मध्यस्थतामा राष्ट्रपति र जेनजी प्रतिनिधिबिच सहमति भएर कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो ।