• फाल्गुन २३ २०८२, शनिबार

जेनजी आन्दोलनलाई समर्थन गर्दै नारायणकाजी भन्छन– राजनीतिलाई सफा गर्नु जरुरी छ

भाद्र २३ २०८२, सोमबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनलाई समर्थन गर्दै राजनीतिलाई सफा गर्नु जरुरी रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै श्रेष्ठले जेनजी आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त हुँदै र देशलाई त्यसबाट मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन्‌–

जेनजी पुस्ताले संघीय राजधानी काठमाण्डौं लगायत देशका विभिन्न भागहरुमा सुशासन, समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितता सहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आज देखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्ष प्रति समर्थन गर्दछु । मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि हो ।

त्यसकालागि निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्ति लाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौं र देश बदलौं । जेन जी आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त हुँदै र देशलाई त्यसबाट मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धि को पक्षमा गुणात्मक योगदान पुर्याउन सफल हुनेछ आशाका साथ शुभकामना व्यक्त गर्दछु ।