• फाल्गुन २३ २०८२, शनिबार

सोह्र श्राद्ध (पितृ पक्ष) आजबाट सुरु

भाद्र २३ २०८२, सोमबार

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् रुपमा सुरु हुँदै छ ।

भाद्र शुक्ल पञ्चमीदेखि सुरु भई अश्विन कृष्ण औंसीसम्म १६ दिनसम्म चल्ने ‘सोह्र श्राद्ध’ अथवा ‘श्राद्ध पक्ष’ हिन्दू परम्परामा एक अत्यन्तै पवित्र र अर्थपूर्ण समय मानिन्छ । यस अवधिमा दिवंगत पितृहरूको आत्मालाई सम्झेर तिनीहरूको नाममा तर्पण, पिण्डदान र दान गर्ने चलन छ । वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार सोरा सरदले पितृ ऋण तिर्ने, वंशलाई आशीर्वाद दिलाउने र पारिवारिक–सामाजिक सम्बन्धलाई मजबुत बनाउने कार्य गर्दछ ।

सनातन धर्ममा मानव जीवनलाई तीन ऋणले बाँधेको बताइन्छ – देव ऋण, ऋषि ऋण र पितृ ऋण । पितृ ऋण तिर्ने सबैभन्दा महत्वपूर्ण माध्यम भनेकै श्राद्ध हो । धार्मिक विश्वासअनुसार यस समयमा पितृहरूको आत्मा पृथ्वीमा आउने हुनाले तिनीहरूलाई जल, पिण्ड र अन्न अर्पण गर्दा तृप्त हुन्छन् र वंशजलाई आशीर्वाद प्रदान गर्छन् । ‘पितृ देवता’लाई स्मरण नगरी परिवारलाई सुख–समृद्धि आउँदैन भन्ने मान्यता प्राचीन कालदेखि चल्दैआएको छ ।

सोह्र श्राद्धलाई केवल धार्मिक कर्मकाण्डका रूपमा मात्र नभई संस्कृतिको संरक्षणका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यसले मानिसलाई आफ्ना पुर्खा, परम्परा र संस्कारप्रति कृतज्ञ बनाउन सिकाउँछ । हरेक परिवारमा श्राद्ध गर्दा पुस्तौंदेखि चलिआएको विधि–विधानलाई निरन्तरता दिन्छ । यसले नयाँ पुस्तालाई पनि आफ्ना पूर्वजप्रति श्रद्धा र संस्कारमा दृढ रहन प्रेरणा दिन्छ ।

सोह्र श्राद्धले परिवार र समाजबीचको आपसी सम्बन्धलाई मजबुत बनाउने विशेष अवसर पनि प्रदान गर्दछ । श्राद्धका अवसरमा आफन्त, छिमेकी र नातेदारहरू एकै ठाउँमा भेला भई सामूहिक रुपमा मिठा मिठा परीकारहरु तयार परि भोजन गर्ने, धार्मिक कार्यमा सहकार्य गर्ने चलन अझै जीवित रहेको छ । यसले आपसी सद्भाव, सहयोग र सामाजिक एकताको सन्देश दिन्छ ।

श्राद्ध पक्षमा ब्राह्मणलाई अन्न, वस्त्र, दक्षिणा दिने चलन परम्परा देखि चल्दै आएको छ । यसले समाजमा दान संस्कृतिलाई जीवित राखेको छ । दान गर्ने कार्यलाई पुण्यप्राप्तिको बाटोका रूपमा लिइन्छ । खासगरी, अनाथ, असहाय र विपन्नलाई पितृको नामबाट सहयोग गर्ने अवसरको रूपमा पनि यो पर्वलाई प्रयोग गरिन्छ, जसले समाजमा मानवीय संवेदना र संस्कृति जगाउने काम गर्छ ।

सोह्र श्राद्ध हिन्दू धर्मावलम्बीका लागि मात्र नभई सम्पूर्ण समाजका लागि संस्कार र सामाजिक सहकार्यको एक आधार हो । पितृलाई सम्झने यो विशेष समयले हामीलाई जीवनको अस्थिरता, पुर्खाप्रति श्रद्धा र परिवारप्रतिको जिम्मेवारीबोध गराउँछ । त्यसैले सोह्र श्राद्ध केवल धार्मिक अनुष्ठान नभई संस्कृति प्रतिको निरन्तरता र सामाजिक एकताको आधार मान्दै आएको पाईन्छ ।