• फाल्गुन २३ २०८२, शनिबार

विश्व व्यवस्थाको अगुवाई गर्दै चीन

भाद्र २० २०८२, शुक्रबार

चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलन भव्य रूपमा सफल भएसँगै अबका दिनमा चीन नयाँ विश्व व्यवस्था दिन तयार भइसकेको विश्वास विश्वजनमानसमा सञ्चार हुन थालिसकेको छ । एससीओ सम्मेलनसँगै आयोजित चिनियाँ सैन्य परेडमा विश्वका २४ भन्दा बढी राष्ट्रप्रमुखको सहभागिता र एकताबद्धताले चीन अब घोषित रूपमा विश्व महाशक्तिका रूपमा देखा परिसकेको आँकलन जो कसैले पनि गरिरहेको छ ।

२१औं शताब्दीको सुरूआतसँगै चमत्कारपपूर्ण आर्थिक बृद्धि र विज्ञान तथा प्रविधिमा अभूतपूर्व सफलता हात पार्दै अघि बढिरहेको चीनले २०२५ को वार्षिक साङ्घाइ सम्मेलनपछि त विश्व परिदृश्यमा अब्बल बनेर उदाइसकेको आभाष दिएको छ ।

विश्वमा औपनिवेशिक र नवऔपनिवेशिक प्रकृतिका विश्व व्यवस्था कायम गरिरहेका अमेरिका सहितका पश्चिमा राष्ट्रहरूले हालसम्म कायम गर्दै आएको विश्वव्यवस्था अबका दिनमा पुरानो र म्याद गुज्रिएको अवस्थामा पुगिसकेको देखिन थालेको छ ।

कपडा नयाँ नै देखिए पनि म्याद गुज्रिएपछि आफै धडाधड च्यातिएर जान्छ । पुनः प्रयोग गर्न वा सिलाउन सकिदैन । त्यसै गरी हाल विश्वका जनताका आँखा अगाडि अमेरिका सहितको पश्चिमा औपनिवेशिक र नवऔपनिवेशिक विश्वव्यवस्था म्याद गुज्रिएको पुरानो कपडाझैं प्रतित भएको छ ।

हेर्दा भौतिक अस्तित्वमा रहे पनि त्यसको औचित्यता क्रमशः समाप्त हुँदै गइरहेको यथार्थता सर्बत्र महसुस हुन थालिसकेको छ । यसले विश्व नयाँ व्यवस्थाको प्रादुर्भाव हुने स्पष्ट सङ्केत दिएको छ ।

पछिल्लो समयमा अफ्रिकाका बुर्किनाफासोसहितका दर्जनौ देश फ्रान्ससहितका पश्चिमा औपनिवेशिक विश्वव्यवस्थाको सिकञ्जाबाट मुक्त भई स्वाभिमानका साथ बाँच्न र अघि बढ्न थालिसकेपछि पश्चमा औपनिवेशिक विश्वव्यवस्था नराम्ररी लडखडाउँदै गरेको सर्बत्र आभाष भइसकेको छ ।

औपनिवेशिक व्यवस्थाले शक्ति राष्ट्रका अगाडि कमजोर वा उपनिवेशमा रहेको राष्ट्रको राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता तथा अखण्डतामाथि निरन्तर प्रहार गर्दै औपनिवेशिक उत्पीडन थोपर्दै ‘फुटाऊ र शासन गर’ भन्ने नीति अनुसार विश्व राजकाज गर्दै आयो । विभेदकारी र उत्पीडनकारी विशेषता बोकेको विश्व व्यवस्था सार्वभौमसत्ताको सम्मानसहित समान सहभागितामा आधारित नयाँ विश्व व्यवस्थाका अगाडि टिक्न सक्ने र बिक्न सक्ने दुबै देखिदैन ।

उपनिवेशका दया, कृपा र निगाहका दिन अस्ताउन थालिसकेका छन् । समान सहभागिता र साझेदारीका आधारमा चीन, रूस र भारतसहितका देशहरूले साङ्घाई सहयोग सङ्गठन मार्फत् नयाँ विश्व व्यवस्था अघि बढाइरहेका छन् ।

यसका लागि सबैभन्दा पहिले पश्चिमा परनिर्भरताको एशियाली अवस्थालाई अन्त्य गर्दै लैजानुपर्छ । अफ्रिका, दक्षिण अमेरिका तथा अष्ट्रेलियाका पश्चिमा औपनिवेशिक तथा नवऔपनिवेशिक निर्भरतालाई कम गर्न र स्वपहलमा अघि बढ्न हातेमालो गर्नुपर्छ । यसलाई साङ्घाई सहयोग सङ्गठनले अघि बढाइरहेको पनि छ ।

अफ्रिकी तथा दक्षिण अमेरिकी देशहरूले साङ्घाई सहयोग सङ्गठनसँग साझेदारी र सहभागिताका लागि हात अघि बढाइरहेका पनि छन् । यो नयाँ विश्व व्यवस्थाप्रतिको आकर्षण र विश्वासको उदाहरण हो ।

पहिलो कुरो त साङ्घाई सहयोग सङ्गठन स्थापना भएपछि एशियाको आफ्नो समस्या क्रमशः हल हुँदै गएको छ । रूस, चीन, भारत, पाकिस्तानसहितका आणविक शक्ति सम्पन्न देश एक ठाउँमा आएका छन् । यसले आफ्ना आन्तरिक मामला समाधान गर्न एक सामूहिक फोरम चलाएर हल गर्न सकिने अवस्था सिर्जना गरिसकेको छ ।

अमेरिकालगायत पश्चिमा राष्ट्रले खेल्न खोजेको र सापेक्ष बलियो उपस्थिति वा पकड बनाएको क्षेत्र भनेको दक्षिण एशियाली क्षेत्र नै हो । पछिल्लो समयमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) धरापमा पर्नु र भारत तथा पाकिस्तानका बीचमा सधैँ युद्धको सम्भावना रहिरहनु एक अभिषापजस्तै बनेर आएको थियो ।

तर अहिले सार्क पुनः अस्तित्वमा नदेखिए पनि भारत र पाकिस्तान दुवै साङघाई सहयोग सङ्गठनका सदस्य रहेकाले यी दुबै आणविक शक्ति सम्पन्न देश बीचमा रहेको सम्भाव्य द्वन्द्व वार्ता तथा छलफलका माध्यमबाट उत्पन्न समस्या समाधानका लागि साङघाई सहयोग सङ्गठन आफैमा एक विसाल फोरम बनिसकेको छ ।

अर्को कुरा, तेस्रो विश्व युद्ध एशियाली भूमिमा लड्ने अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूको सोच र मनसायमा ठूलो धक्का पुगेको छ । किनभने, एशियाली राष्ट्रका बीचमा फुट ल्याएर यहीबाटै तेस्रो विश्व युद्धको छिनोफानो गर्ने पश्चिमा सोचलाई साकार रूप दिने एशियाली अन्तर विरोध र अन्तरद्वन्द्व आफैले नै समाधान गर्ने हैसियतमा साङघाई सहयोग सङ्गठन पुगिसकेको देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा, पश्चिमा शक्तिले अनायाश निहुँ खोजेर एशियाली देशमा हमला गरेर भए पनि जबर्जस्त युद्ध लाद्ने अवस्था अबका दिनमा टर्न गएको छ । किनभने, एशियाली शक्ति राष्ट्रहरूले साङघाई सहयोग सङ्गठनजस्तो एक सशक्त वैकल्पिक छाता निर्माण गरेर सापेक्ष एकता कायम गरिसकेका छन् ।

विश्वमा नयाँ विश्व व्यवस्था दिनका लागि साङघाई सहयोग सङ्गठनले तीनवटा सशक्त हतियार अघि सारिसकेको छ । जसमा विश्व विकाससम्बन्धी ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, विश्व सुरक्षासम्बन्धी ग्लोबल सेक्युरिटी इनिसिएटिभ र विश्व संस्कृति विकाससम्बन्धी ग्लोबल कल्चरल इनिसिएटिभ रहेका छन् ।

विश्वका सबै राष्ट्रलाई समानताका आधारमा सहकार्यको खुल्ला रूपमा अनुरोध गरिएपछि विश्वका अधिकतम राष्ट्रको साङ्घाई सहयोग सङ्गठनप्रति चासो बढेर गएको छ । कतिपयले हातहतियार फौजी शक्तिले मात्र काम गर्ने भनिरहेका बेलामा चीनले तियाननमेन स्क्वायरमा फौजी परेड प्रदर्शन गरेर विश्व सुरक्षाका मामलामा पनि आफूहरू कम नरहेको कुराको प्रमाण दिइसकेका छन् । त्यसो त रूस पनि विश्वका ठूला आणविक शक्ति सम्पन्न राष्ट्रमा रहँदै आएको छ । भारत र पाकिस्तान पनि गतिशील आणविक सम्पन्न राष्ट्रका रूपमा रहेका छन् ।

यी सबै तथ्यहरूलाई नियाल्दा चीन अबका दिनमा विश्व व्यवस्थाको ननेतृत्व गर्न तयार भइ अघि बढेको देखिन्छ ।