काठमाडौं । मधुमेहको रोकथाम र व्यवस्थापनमा सजिलो जीवनशैली र आहारमै परिवर्तनले ठूलो भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन् । कन्सल्टेन्ट फिजिसियन तथा एन्डोक्राइनोलोजिस्ट डा. दिपेन्द्र कार्कीका अनुसार कार्बोहाइड्रेटको मात्रा नियन्त्रण गर्नु नै मधुमेह नियन्त्रणको पहिलो आधार हो ।
’मधुमेह, उच्च रक्तचाप वा उच्च कोलेस्ट्रोल भएका व्यक्तिहरूले भात, रोटी वा ढिँडो जस्ता कार्बोहाइड्रेटयुक्त खानेकुराको मात्रा कम गर्नुपर्छ’, डा. कार्कीले भन्नुभयो, ‘बरु मौसमअनुसारको साग, हरियो तरकारी जस्ताको मात्रा बढाउनुपर्छ ।’
उहाँको भनाइमा, परम्परागत नेपाली भोजन दालभात तरकारी वा रोटी तरकारी सेवन गर्दा थालीको केवल एक तिहाइ भाग मात्र भात वा कार्बोहाइड्रेटयुक्त खाना राख्नुपर्ने हुन्छ । बाँकी भागमा मौसमी तरकारी, दाल, सलाद र अन्य फाइबरयुक्त खाद्य पदार्थ राख्दा सन्तुलित आहार तयार हुन्छ । कार्बोहाइड्रेट बढी सेवन भएमा त्यसलाई व्यायाममार्फत खर्च गर्नुपर्ने उहाँको भनाइ छ । ’नियमित व्यायामले शरीरलाई कार्बोहाइड्रेट प्रयोग गर्न सजिलो बनाउँछ, जुन मधुमेह व्यवस्थापनमा महत्त्वपूर्ण हुन्छ’, उहाँले भन्नुभयो ।
सामान्य नेपाली खानामा दाल, तरकारी र सलादको समावेशले प्रोटिन, फाइबर र भिटामिन उपलब्ध भए पनि कार्बोहाइड्रेटको मात्रा नियन्त्रण नगरे मधुमेहको जोखिम बढ्ने उहाँको निष्कर्ष छ ।