• फाल्गुन २३ २०८२, शनिबार

नेपाल-अंग्रेज युद्ध, सुगौली सन्धि र गोर्खा भर्ती

भाद्र १२ २०८२, बिहीबार

“कुनै सैनिकले युद्धमा शत्रुसँग कुनै डर लाग्दैन भन्दछ भने या त उसले झुठो बोलेको छ अथवा ऊ गोर्खा सैनिक हुनेछ ।” फिल्ड मार्सल साम मानेकशाह

यस्तो इतिहास बोकेको वीर गोर्खा सैनिक भनिने गोर्खाहरु र नेपालको ऐतिहासिक महत्व राख्ने नेपाल–अंगे्रज युद्ध र सुगौली सन्धि भएको २०० वर्ष पुगेको छ । यस उपलक्ष्यमा ब्रिटेनले विविध कार्यक्रम गरी द्वि–सतवार्षिकी मनाएको छ ।

उक्त कार्यक्रममा नेपालका कतिपय मन्त्रीहरु समेत सहभागी गराइएकोले यो सन्धिको ब्रिटेनले ठुलो महत्व राखेको प्रमाणित हुन्छ । यो सन्धि नेपाल र अङ्गे्रज  (East India Company)  सँग सन् १८१४–१८१६ को युद्धमा नेपालले बहादुरी पूर्वक युद्ध गरी पूर्वका तिन मोर्चामा जीत हासिल गरेपनि पश्चिमको ठुलो भूभाग कुमाउ–गढवाल खास गरी नालापानी, मलाउ देउथल भन्ने ठाउँको युद्धमा हार भएपछि बाध्य भएर सन्धि गर्नु परेको थियो । नेपाल—अङ्गे्रज युद्ध अनेकन ठाउँमा भएता पनि पाँच ठाउँको युद्ध विशेष छन् ।

नेपालले युद्धमा पाँच मोर्चामध्ये तिन मोर्चा (पर्सा मकवानपुर, जितगढ, जैथक) जितेपनि महाकाली पारी ठुलो भूभाग र महत्वपूर्ण मोर्चा (नालापानी, मलाउ देउथल) को हार पछि सन्धि गर्न बाध्य भएको थियो । सन्धिको निम्ति नेपालको तर्पmबाट गुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले वर्तमान बिहारको मोतीहारी जिल्ला अन्तरगत सुगौली भन्ने ठाउँ गई सन् २ डिसम्बर, १८१५ (वि.सं. १८७२ मार्ग १९ गते) मा यो सन्धि भएको हो । अङ्गे्रजको तर्फबाट सन्धिकर्ता कर्नेल प्यरिस ब्राड शा थिए । यो सन्धिलाई दुवै सरकारले १५ दिन भित्र अनुमोदन गर्ने भनिएको थियो । सन्धिको शर्त निम्न थियो ।

१. नेपालको तत्कालिन भूमि जम्मा २ लाख ४ हजार ९ सय १७ वर्ग कि.मि., पूर्वमा टिस्टा नदी पश्चिममा काँगडा सतलज नदीसम्म फैलिएको स्थितिमा यो युद्घ हुन गई सुगौली सन्धि पछि पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीसम्मका पहाडी भूभागमा मात्र सिमित हुन गएको थियो । तराईको धेरै जग्गा सरकारी र सैनिक उच्च अधिकारीहरुलाई खानगीको लागि (तलबको साटो दिइने जमिन) बिर्ता दिइएको थियो ।

यसकारण नेपालको यसमा ठुलो असहमति थियो । तर कम्पनी सरकार सहमत भएन र त्यो तराईको भूभाग पनि गुमाउनु पर्‍यो । पछि ब्रिटिस रेसिडेन्सी प्रतिनिधि काठमाडौँ आई राजाको दर्शन भेटमा (९ महिना पछि) मेचीदेखी राप्तीसम्मको तराई भूमि फिर्ता पाइयो तर पश्चिमका नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग सन् १८५७ को भारतको जनविद्रोह दबाउन नेपालले अंग्रेजलाई गरेको सहयोगको ठुलो गुन ठानी प्रधानमन्त्री जंगबहादुर राणाको पालामा ४९ वर्ष पछि सन् १८६५ मा फिर्ता पाएर बल्ल नेपालको वर्तमान क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग कि.मि. रहन गएको हो । यसरी यो सुगौली सन्धिमा नेपालले आफ्नो १/३ भू–भाग गुमाउनु पर्नुको साथै एकीकरणको अभियानमा पनि बिराम लाग्न पुगेको दुःखद इतिहास छ ।

२. सन्धिमा अर्को शर्त गोर्खाहरुलाई ब्रिटिस सेनामा भर्ती गरिनेछ ।
३. ब्रिटिस प्रतिनिधि (रेसीडेन्सी) काठमाण्डुमा राखिने ।
४. नेपालले अमेरिकी अथवा युरोपेली कर्मचारी राख्न नपाउने (यस अघि फ्रान्सका कमाण्डरहरु नेपाली सेनालाई तालिम दिने काममा लगाइन्थ्यो) । नेपालमा सन्धिको शर्तहरुलाई लिएर भारदारहरुमा मतभेद भयो । काजी जनरल अमरसिंह थापा लगायतका सेना प्रमुखहरु नेपालले केही समय पछि पुनः युद्ध गर्नसक्ने पक्षमा थिए भने दरबारका भारदारहरु (राजा गिर्वाण युद्धविक्रम शाह र प्रधानमन्त्री भिमसेन थापा) सन्धि गर्ने पक्षमा थिए । यसरी सन्धि अनुमोदनमा ढिलो गर्ने भयो ।

अङ्ग्रेजले नेपालको आसय बुझेर तुरुन्त दोस्रो हमला वि.सं. १८७२ फागुन ५ गतेबाट प्रारम्भ भयो । नेपालले तयारी केही गरेको थिएन । अचानक दोस्रो हमलामा नेपाल सबै मोर्चामा पराजित हुन पुग्यो र सन्धि अनुमोदन गर्न बाध्य भयो । अन्तिम सन्धि अनुमोदन वि.स. १८७३ जेठ ४ गते गरियो । यसरी मेचीदेखि पूर्वको भाग दार्जिलिङ र सिक्किमको केही भाग र महाकालीदेखि पश्चिमको कुमाउ, गढवाल र देहरादुनसम्म, पश्चिम सतलज नदीको पश्चिमतर्पm केही भाग काँगडा वर्तमानको हिमाञ्चल प्रदेश र तराईको धेरै भागहरु सधैको लागि गुमाउनु पर्‍यो । यो दोस्रो हमला मुख्य रुपमा राजधानी काठमाण्डुलाई ताकेर गरिएको थियो ।

अङ्ग्रेजसितको उपरोक्त युद्धहरुमा नेपाली (गोर्खाली) सेनाले देखाएको बहादुरीबाट अङ्ग्रेज कम्पनी सरकार प्रभावित भएको थियो । अतः सन्धिमा भने जस्तो गोर्खाहरुलाई ब्रिटिस सेनामा भर्ना गर्न प्रारम्भ भयो । त्यस बखतसम्म कम्पनी सरकारको इण्डियामा पूर्ण कब्जा भएको थिएन । सन् १८५७ को युद्धबाट इण्डियामा ब्रिटिस कम्पनीको पूर्ण कब्जा भएको हो । यसरी गोर्खाहरु कम्पनी सरकार सेनामा भर्ती हुँदै गए ।

यसको विधिवत भर्ती सन् १८८५ मा प्र.म. वीरशमशेर राणाको पालामा भएको हो । गोरखपुरमा भर्तिकेन्द्र स्थापना गरी भारी मात्रामा गोर्खाहरुलाई भर्ना गर्न प्रारम्भ भयो । अङ्ग्रेजका तालिम केन्द्र वर्तमानको पाकिस्तानको लाहोरमा थियो । त्यसैकारण लाहोर जाने गोर्खाहरुलाई लाहुरे भनिएको हो । गोर्खा सेनामा गुरुङ्ग, मगर, क्षेत्री, ठकुरी, राई, लिम्बु र सुनुवारलाई लिइन्थ्यो । आजकाल अन्य जातिकालाई पनि भर्ती गरिन्छ । अङ्ग्रेज सेनामा भर्ती हुने गोर्खाहरुको संख्या प्रथम विश्व युद्ध (सन् १९१४–१९१८) मा १ लाख १५ हजार पुगेको थियो ।

दोश्रो विश्व युद्ध (सन् १९३९–१९४५) मा यो संख्या २ लाख पुगेको थियो । तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेर राणाले १५ –५० वर्षका गोर्खा युवाहरुलाई भर्तीको लागि पठाउन नेपालका सम्पूर्ण गाउँका मुखिया जिम्मावाल र अड्डाका बडाहाकिमलाई आदेश दिएको लालमोहर इतिहासमा पाइन्छ । विश्वयुद्ध र अन्य कैयौं युद्धमा गोर्खाहरुले बहादुरीको ठुलो नाम कमाएका थिए । जसमा १३ जना गोर्खाहरुले ब्रिटिसको सर्वोच्च बहादुरी पदक भिसी (भिक्टोरिया क्रस) प्राप्त गरेका थिए । विश्वमा ‘वीर गोर्खा’ भन्ने अहिलेसम्म प्रख्यात छ ।

वास्तवमा गोर्खाली भर्ना नेपालका शासकका लागि कुटनैतिक मुद्रा बन्न पुग्यो । भनिन्छ, बेलायतको सन् १९२३ को सम्झौतामा नेपालको सार्वभौम अस्तित्व मान्यता दिनुमा प्रथम विश्वयुद्धमा गोर्खाली बहादुरीको ठुलो भूमिका थियो । ब्रिटिस सरकारले गोर्खाली सेनाका लागि कदर स्वरुप सन् १९१९ देखि नेपाललाई रु. १० लाख वार्षिक सलामी दिने गरेको थियो । दोश्रो विश्वयुद्धताका यो सलामी दोब्बर गरिएको थियो । अहिले यो सलामी रकम कति र कुन रुपमा छ अनुसन्धानको विषय छ । उपरोक्त विश्वयुद्धहरु र अन्य युद्धहरुमा ६० हजार गोर्खाहरुले वीरगति प्राप्त गरेका थिए भने १ लाख ६० हजार घाइते तथा अपाङ्ग भएका थिए ।

कतिपयको त सन्तानै सखाप भएका थिए । गोर्खाहरुले विभेदको पनि सामना गर्नु परेको छ । विश्वयुद्ध पश्चात ८० हजार गोर्खाहरुलाई पेन्सन तथा नाम काटेर घर पठाएको थियो । पछि मलेसिया र ब्रुनाईको लडाइँ सकिएपछि पनि ठुलो संख्यामा गोर्खाहरुलाई घर पठाइएको थियो । अहिले पनि सन् १९९७ भन्दा अघि बेलायती सेनाबाट अवकास पाएका गोर्खाहरुले असमान पेन्सन र सुविधा प्राप्त गर्दै आएको भनि विभेदको विरुद्घमा आवाज उठाउँदै आएका छन् । भारतीय सेनामा कार्यरत गोर्खाहरुको विषयमा भन्नु पर्दा स्वास्थ्य सुविधा र अन्य सुविधा लिनुमा ठुलो कठिनाई छ ।

साथै पूर्व गोर्खाका परिवारको पेन्सनको कागज बनाउनमा पनि अत्यन्त झन्झटिलो प्रकृया छ । प्रकृयाबाट हार खाएर कतिले त प्रकृया नै छाडेका छन् । वर्तमानमा ब्रिटिस सेनामा रहेका गोर्खाहरुलाई सन् १९९७ पछि बेलायतको भिसा दिएर बेलायत र हङकङमा रहन सक्ने व्यवस्था गरिदिएर एक गोलीले दुई शिकार गरेको छ । एक त बेलायतको पैसा देशमै रहने र अर्को आन्दोलनकारी गोर्खाहरुको आवाज मत्थर गर्ने काम गरेको छ । यस्तो व्यवस्थाले नेपाल र गोर्खाहरुका आफन्तहरुलाई भने घाटा नै गरेको छ । खुद भिसा पाएको गोर्खाहरुलाई के फाइदा होला भन्ने विषयमा गोर्खाहरुका सन्तान कुन रुपमा स्थापित हुन्छन्, त्यो हेर्नलाई पाँच—छ दशक पर्खन पर्नेछ ।

भारत स्वतन्त्र पश्चात नोभेम्बर सन् १९४७ मा भएको त्रिपक्षीय सन्धि (नेपाल, भारत र ब्रिटेन)मा पनि गोर्खा भर्तीलाई यथावत राखियो । दुई तिहाई गोर्खा सैनिकहरु भारतमा रहने (पहिलो, तेश्रो, चौथो, पाँचौ, आठौँ र नवौं गोर्खा राइफल) र एक तिहाई गोर्खा सैनिकहरु (दोश्रो, छैटौँ, सातौँ र दशौँ गोर्खा राइफल) । उनीहरु ब्रिटिस गोर्खा ब्रिगेडको रुपमा विभाजित भए । अहिले ती गोर्खाहरु भारत, ब्रिटेन र सिंगापुरमा सेवारत छन् । अहिले ब्रिटेनमा ३२००, सिंगापुर पुलिसमा ७५० र भारतीय सेना, आसाम राइफल र अन्य गरी ८० हजारको हाराहारीमा सेवारत रहेका छन् ।

यसरी गोर्खाहरु विदेशमा भर्ती हुन सन्धिद्वारा पठाएको हो । जो अहिले परम्परा नै बनेको छ । गोर्खा भर्तीको धेरै राम्रो र बहादुरीको पक्षहरु पनि छन् र दुखद पक्ष पनि छन् । त्यसमध्ये प्रथम र दोस्रो विश्व युद्घमा हराएका, अत्तोपत्तो नलागेका र एनओके पत्ता नलागेका गोर्खा सैनिकहरुको रहलपहलबाट संकलन भएको जम्मा रु. ५४ लाख रकम मध्ये रु. १० लाख भारु भारतमा रहने र ४४ लाख भारु नेपालले प्राप्त गर्ने प्रावधान गरिएको थियो ।

सो रकम प्राप्त गरे पश्चात गोर्खाहरुकै कल्याणको निमित्त युद्घ पश्चात पुनः निमार्ण कोष स्थापना गरी उक्त रकम नेपाली पूर्व सैनिकहरुको कल्याणको लागि खर्च गर्ने निधो भएको थियो । सो ४४ लाख रकमबाट गोर्खा भुतपूर्व सैनिकहरुको कल्याण, विशेषगरी स्वास्थ्य र शिक्षामा खर्चिने गरी काठमाडौँमा केन्द्रिय समन्वय बोर्ड गठन गरी बोर्डको अध्यक्षमा नेपाल सरकारका मन्त्री र सचिवमा भारतीय दुतावासका सैनिक सहचारी रहने र सदस्यमा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलका भुतपूर्व सैनिकहरु रहने व्यवस्था गरिएको थियो ।

पश्चिमाञ्चल पोखराको सदस्यमा मेजर वीरसिंह गुरुङ्ग (सन् १९०२–१९७२) नियुक्त हुनुभएको थियो । उहाँको स्मृति स्मारिकाबाट यो विषयको जानकारी पाइएको हो । उहाँको स्मृति स्मारिकाका अनुसार पोखरामा अमरसिंह हाइस्कूल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट र काठमाडौँको लैनचौरस्थित सैनिक निवास स्थापना गर्नुका साथै देशका अन्य विभिन्न ठाउँमा स्कूल र हेल्थपोष्टहरु स्थापना गरिएको बताइन्छ ।

त्यसको लागि कतिपय स्थानीयले निःशुल्क जग्गा दान गरेको भनिन्छ । त्यो हिसाबले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलका विभिन्न ठाउँमा स्कूल र हेल्थपोष्टहरु खोलिएको हुनुपर्छ । पोखराका दुई संरचना र काठमाडौँको लैनचौरको संरचना छोडेर अन्य ठाउँमा उक्त रकमबाट बनेका स्कूल र हेल्थपोष्टहरु बारे धेरै भुतपूर्व सैनिकहरुलाई जानकारी भएको पाइएन ।

पुर्खा गोर्खा सैनिकको रगत, पसिना र आँसुको रकमबाट बनेको संरचना कहाँ र कस्तो छ, त्यसको खोजी र अवलोकन भुतपूर्व सैनिकहरुबाट हुनुपर्छ । जीर्ण देखिएमा पुरानो इतिहास जोडेर सम्भारको लागि भारतीय दुतावासमा माग पनि गर्न सकिन्छ । अहिले भारतीय गोर्खा सैनिक र बेलायती गोर्खा सैनिकहरुको लागि धेरै राम्रो सेवा सुविधा र पेन्सनको व्यवस्था भएको छ । पेन्सन प्राप्त गर्नका लागि नेपाल भित्रै पनि धेरै ठाउँमा पेन्सन क्याम्पहरु बनेका छन् ।

नेपाल—अङ्गे्रज युद्ध १८१४–१८१६ र सुगौली सन्धिको २०० वर्षको अवसरमा देशकै एक तिहाई भन्दा बढी भू–भाग गुमाउनु पर्नेसम्मको इतिहास र गोर्खा भर्तीको श्रृंखला जो अहिलेसम्म पनि यथावत छ, यस विषयमा देशवासी र पूर्वगोर्खाहरुले पनि समिक्षा र चिन्तन मनन गर्नेछन् भन्ने आशा छ ।
सन्दर्भ श्रोत : १. नेपाली सेनाको इतिहास (२०६९)– त्रिरत्न मानन्धर, तिर्थप्रसाद मिश्र
२. गोर्खालीको चिनारी–डा. हर्क गुरुङ्ग
३. कस्तो थियो सुगौली सन्धि ?–कालपृष्ठ (दस्तावेज) ११/०७/२०७२
४. ब्रिटिश गोर्खाहरुको २००औँ वार्षिकोत्सव पुस्तिका
५. मेजर वीरसिंह गुरुङ्ग स्मृति स्मारिका ।